ट्रफी टुर नेपालसहित एसियाका सात देशमा पुग्ने

काठमाडौँ, ४ पुस । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर भारतबाट औपचारिक रूपमा सुरु भएको छ । क्रिकेटको उत्साह विश्वभर फैलाउने उद्देश्यसहित सुरु गरिएको यो टुर एसियाका विभिन्न देशहरूमा आयोजना हुनेछ ।

भारतबाट सुरु भएको यात्रामा ट्रफी श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियासम्म पु¥याइनेछ । टुरका क्रममा लाखौँ क्रिकेटप्रेमी फ्यानहरूले विश्वकप ट्रफीलाई नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन् ।

ट्रफी टुरलाई केवल प्रदर्शनीमा सीमित नराखी विभिन्न सिर्जनात्मक र सहभागितामूलक गतिविधिहरू समावेश गरिएको छ । यसअन्तर्गत क्याम्पस भ्रमण, फ्यान भेटघाट, सार्वजनिक सक्रियता, क्रिकेट कार्निभल, तथा विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् ।

यस्तै, टी–२० विश्वकप २०२६ मा सहभागी खेलाडीसँग सम्बन्धित विद्यालय र कलेजहरूमा पनि ट्रफी लैजाने कार्यक्रम तय गरिएको छ, जसले युवा पुस्तामा क्रिकेटप्रति थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ प्रतियोगिता आगामी वर्षको फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुनेछ । विश्वकपको यो दशौँ संस्करणमा २० टिमको सहभागिता रहनेछ । २९ दिनसम्म चल्ने प्रतियोगिता भारत र श्रीलंकाका आठ वटा अन्तर्राष्ट्रिय स्तरका मैदानहरूमा सञ्चालन हुनेछ ।

भारततर्फ नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमए चिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई) र इडेन गार्डेन्स (कोलकाता) मा खेलहरू हुनेछन् ।

श्रीलंकामा भने आर. प्रेमदासा स्टेडियम र सिङ्गालीज स्पोट्र्स क्लब क्रिकेट ग्राउन्ड (कोलम्बो) तथा पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) प्रतियोगिताका मुख्य स्थल रहनेछन् ।

समूह विभाजनअनुसार नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् । बलिया टिमहरू समेटिएको समूहमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

नेपालले विश्वकपमा आफ्नो पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ । दोस्रो खेल फेब्रुअरी १२ (माघ २९) मा इटालीसँग हुनेछ । त्यसपछि फेब्रुअरी १५ (फागुन ३) मा वेस्ट इन्डिज र अन्तिम समूह चरणको खेल फेब्रुअरी १७ (फागुन ५) मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालका समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे रंगशालामा हुनेछन् ।

समूहगत रूपमा हेर्दा समूह ‘ए’ मा भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स र पाकिस्तान छन् । समूह ‘बी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, आयरल्यान्ड र ओमान रहेका छन् । समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली र नेपाल छन् भने समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र यूएई समावेश छन् ।
विश्वकप ट्रफी टुर र प्रतियोगिताको तालिकाले नेपाली क्रिकेट फ्यानहरूमा उत्साह थपेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रदर्शनप्रति सबैको ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रिया दिनुहोस्