पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार सञ्चालन गर्न आग्रह

 

काठमाडौँ, ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएपछि अध्यक्षका प्रत्यासी तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार सही, पारदर्शी र लोकतान्त्रिक ढङ्गले सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै पहिलो प्रतिक्रिया दिँदै नेता पोखरेलले महाधिवेशनको सम्पूर्ण प्रक्रिया र जनमतको सम्मान गर्दै नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

उहाँले पार्टीको दीर्घकालीन हित, एकता र संस्थागत सुदृढीकरणका लागि सामूहिक नेतृत्वको अभ्यास, आन्तरिक लोकतन्त्रको प्रवद्र्धन र स्थापित विधि–पद्धतिको पालना अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

महाधिवेशनका क्रममा उठेका वैचारिक बहसहरूबारे धारणा राख्दै नेता पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) को प्रकाशमा पार्टीलाई नियन्त्रण र सन्तुलनको सिद्धान्तअनुसार सञ्चालन गर्नुपर्ने विषयले नयाँ उचाइ र निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँका अनुसार जबज एमालेको मूल वैचारिक आधार भएकाले यसलाई समयानुकूल रूपमा सुदृढ गर्दै संस्थागत अभ्यासमा उतार्नु आवश्यक छ । यसले पार्टीलाई अनुशासित, उत्तरदायी र जनमुखी बनाउने उहाँको भनाइ छ ।

नेता पोखरेलले महाधिवेशनलाई वैचारिक बहस, संगठनात्मक समीक्षा र भावी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा मूल्याङ्कन गर्दै पार्टीभित्र उठेका विविध मत र सुझावलाई सकारात्मक ढङ्गले ग्रहण गर्न नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नुभयो । फरक मतलाई सम्मान गर्दै सहमतिको संस्कृतिलाई संस्थागत गर्न सके मात्र पार्टी बलियो बन्ने उहाँको धारणा छ ।

अध्यक्ष पदमा विजयी हुन नसके पनि आफू पार्टी, आन्दोलन र विचारप्रति प्रतिबद्धतामा दृढ रहेको स्पष्ट पार्दै नेता पोखरेलले देशभक्तिपूर्ण तथा लोकतान्त्रिक आन्दोलनलाई सुदृढ बनाउने र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता निरन्तर रहने विश्वास दिलाउनुभयो ।

 

उहाँले व्यक्तिगत पद वा जिम्मेवारीभन्दा माथि पार्टीको सामूहिक लक्ष्य र राष्ट्रहित रहेको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीका कार्यक्रम र अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वप्रति भरोसा व्यक्त गर्दै नेता पोखरेलले संगठनात्मक एकता, अनुशासन र कार्यक्षमतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँका अनुसार वर्तमान राजनीतिक परिवेश, जनअपेक्षा र चुनौतीलाई दृष्टिगत गर्दै पार्टीले नीति, कार्यक्रम र संगठनात्मक संरचनालाई समयसापेक्ष रूपमा सुदृढ गर्नुपर्नेछ । त्यसका लागि नेतृत्वबीचको सहकार्य, तल्लो तहसम्मको सहभागिता र जिम्मेवारीको स्पष्ट बाँडफाँड अपरिहार्य रहेको उहाँको भनाइ छ ।

नेता पोखरेलले महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै पार्टीलाई लोकतान्त्रिक अभ्यास, विधिसम्मत निर्णय प्रक्रिया र सामूहिक नेतृत्वको मार्गमा अघि बढाउन सबैको साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।

एमालेको वैचारिक स्पष्टता, संगठनात्मक एकता र जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढेमा पार्टीले राष्ट्रिय राजनीतिमा सकारात्मक योगदान पु¥याउने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्