लुम्बिनी लायन्स एनपिएल दोस्रो संस्करणको च्याम्पियन

काठमाडौँ, २८ मंसिर । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उपाधि जित्न सफल भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको हो ।
गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स यसपटक पनि उपाधि नजिक पुगेर उपविजेतामै सीमित हुन बाध्य भयो । पहिलो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यसपटकको उपाधिसहित लुम्बिनी लायन्सले नगद  एक करोड १० लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिमले ५१ लाख पुरस्कार हात पारेको छ ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमै समेटिएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ५१ बलमा एक चौकाको सहयोगमा धैर्यपूर्ण इनिङ खेले । यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिजिनले समान १०–१० रन जोडे । अन्य ब्याट्सम्यानहरू भने दोहोरो अङ्कमा रन जोड्न असफल रहे ।
सुदूरपश्चिमलाई न्यून स्कोरमा सीमित गर्न लुम्बिनी लायन्सका बलरहरूले अनुशासित र प्रभावकारी प्रदर्शन गरे । लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन–तीन विकेट हात पारे । यस्तै, टीका भण्डारीले एक विकेट लिए ।
८६ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लुम्बिनी लायन्सले आक्रामक ब्याटिङ गर्दै नौ ओभरमै चार विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउँदै जितमा निर्णायक भूमिका खेले । उनले मात्र १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै दर्शकलाई रोमाञ्चित बनाए ।
यस्तै, डार्शी शर्टले १४ रन बनाए । उनले १३ बलमा तीन चौका प्रहार गरेका हुन् । कप्तान रोहित पौडेलले १२ बलमा दुई चौका र एक छक्काको सहयोगमा १६ रन जोडे । निरोशन डिक्वेल ११ रनमा अविजित रहे भने सन्दीप जोरा शून्यमा आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविनाश बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे । यद्यपि, लुम्बिनीका ब्याट्सम्यानको आक्रामक सुरुवात रोक्न सुदूरपश्चिम सफल हुन सकेन ।
यस जितसँगै लुम्बिनी लायन्सले एनपिएलको दोस्रो संस्करणको उपाधि आफ्नो नाममा लेखाउँदै नेपाली क्रिकेट इतिहासमा उल्लेखनीय सफलता हासिल गरेको छ । प्रतियोगिताभरि देखाएको निरन्तरता, अनुशासन र टोलीभावनाले लुम्बिनीलाई योग्य च्याम्पियन बनाएको खेलप्रेमीहरूको धारणा छ ।
यसैगरी, कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा शनिबार राति ९ः०० बजेदेखि एनपिएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल नाइट’ हुन लागेको हो ।
कार्यक्रममा एनपिएल दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्ससहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, पोखरा एभेञ्जर्स, कर्णाली याक्स, चितवन राइनोज र जनकपुर बोल्टुस्का खेलाडीको सहभागिता रहने क्लबका प्रमुख रविन श्रेष्ठले जानकारी दिनुभयो । “नेपालमा क्रिकेटको राम्रो इतिहास रचिँदैछ ।
एनपिएल खेल्न विभिन्न मुलुकका खेलाडी यहाँ आएका छन् । यसले नेपालको पहिचान थप बढाउनुका साथै एनपिएलका माध्यमबाट प्रचारप्रसार हुँदा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने छ”, उहाँले भन्नुभयो ।
एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब मनोरञ्जनात्मक साझेदार बनेको थियो । यसअघि क्लबका प्रमुख श्रेष्ठ र नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एनपिएल दोस्रो सिजनका लागि एलओडी मनोरञ्जनात्मक साझेदार बन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । आगामी वर्षमा पनि क्लब मनोरञ्जनात्मक साझेदार बन्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्