काठमाडौँ, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व हस्तान्तरण, वैचारिक स्पष्टता र संगठनात्मक सुधारका विषयले प्रमुख चर्चा पाएको छ ।
यसै सन्दर्भमा २२ मङ्सिरमा आयोजित अन्तरसंवाद कार्यक्रममा पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा अन्य वरिष्ठ नेताहरूले आगामी महाधिवेशनले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने मोडेल निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष युवराज ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि पार्टीका लागि गरेको योगदान उल्लेखनीय रहेको भन्दै, अब एमालेलाई थप लोकतान्त्रिक, पारदर्शी र संस्थागत बनाउन नेतृत्व हस्तान्तरण आवश्यक भइसकेको बताउनुभयो ।
उहाँका अनुसार व्यक्तिको लोकप्रियता वा प्रभावभन्दा पनि संगठनको दीर्घकालीन स्थायित्व र लोकतान्त्रिक अभ्यास महत्वपूर्ण हुने भएकाले नयाँ पुस्तालाई अवसर दिनु नै पार्टीका लागि हितकर कदम हुनेछ । ‘‘ओलीज्यूको योगदान निर्विवाद छ, तर नेतृत्व पुस्तान्तरणले पार्टीको भविष्यलाई अझ सुदृढ बनाउँछ,’’ ज्ञवालीले भन्नुभयो ।
अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले महाधिवेशनका लागि आफूहरूको पक्षबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्ष पदको मुख्य उम्मेदवारका रूपमा अघि सारिने तयारी भइरहेको जानकारी दिनुभयो । अन्य पदाधिकारीहरूको उम्मेदवारीबारे पनि नेताहरूबीच निरन्तर छलफल भइरहेको उनले बताउनुभयो । पाण्डेका अनुसार पोखरेलजस्तो अनुभवी र संगठनमा बलियो आधार भएका नेताको नेतृत्वबाट पार्टीमा समग्र सुधार, नीति कार्यान्वयन र संगठन विस्तारमा सकारात्मक प्रभाव पर्न सक्ने विश्वास छ ।
पार्टीका स्थायी कमिटी सदस्य कर्ण थापाले एमालेमा पछिल्ला वर्षहरूमा बढ्दो व्यक्तिवाद र निर्णय प्रक्रियामा केन्द्रिकृत मानसिकताले पार्टीको पहिचान कमजोर बनाएको टिप्पणी गर्नुभयो । उहाँले विधानमा रहेको दुईवर्षे कार्यकाल सीमा तथा ७० वर्ष उमेर सीमा हटाउन नहुने स्पष्ट गर्दै, त्यस्ता प्रावधानहरू पार्टीलाई लोकतान्त्रिक अभ्यासमा अनुशासित राख्न आवश्यक रहेको बताउनुभयो ।
‘‘संगठन बलियो बनाउन नेतृत्वमा उमेर, कार्यकाल र उत्तरदायित्वका सीमाहरू आवश्यक हुन्छन्,’’ थापाले जोड दिनुभयो ।
नेताहरू परशुराम मेघी गुरुङ र विनोद ढकालले पनि पार्टीभित्र जनताको बहुदलीय जनवाद (ज–ब–ज)को सिद्धान्तअनुरूप वास्तविक अन्तरपार्टी लोकतन्त्र कायम हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूका अनुसार पार्टीको आन्तरिक संरचना, निर्णय प्रक्रिया र नेतृत्व व्यवस्थापन जनवादी मान्यताअनुरूप व्यवस्थित हुन सकेमा मात्र एमाले देशभरको प्रगतिशील राजनीतिकधारको बलियो विकल्पका रूपमा निरन्तर अघि बढ्न सक्षम हुन्छ ।
आगामी ११औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँ उपत्यकामा सम्पन्न हुँदैछ । महाधिवेशनमा देशभरका करिब २,५०० प्रतिनिधि सहभागी हुने अनुमान छ । महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै संगठन, नीति तथा वैचारिक दिशाबारे विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ ।
विशेषगरी यसपटक नेतृत्व पुस्तान्तरण, जेनजी पुस्ताको प्रतिनिधित्व विस्तार, संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र राजनीतिक मार्गचित्र निश्चित गर्ने विषय महाधिवेशनका प्रमुख एजेण्डा हुने अनुमान छ ।
एमालेभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व निरन्तरताबारे उठ्दै आएको आलोचना र सुधारको मागलाई यस महाधिवेशनले कसरी सम्बोधन गर्छ भन्ने जिज्ञासा सदस्य, कार्यकर्ता र आम राजनीतिक वृत्तमा बढ्दै गएको छ ।
शीर्ष नेताहरूको संयुक्त अभिव्यक्तिले पार्टीभित्र अब नयाँ शैलीको नेतृत्व र व्यवस्थापनमा प्रवेश गर्ने वातावरण तयार भइरहेको संकेत दिएको छ । महाधिवेशनले ल्याउने संरचनात्मक सुधार र नेतृत्व परिवर्तनको मोडेलले एमालेको आगामी राजनीतिक यात्रालाई निर्णायक रूपमा प्रभावित गर्ने विश्लेषण गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस्