जनकपुरधाम, २२ मंसिर । मधेस प्रदेशको नयाँ सरकार औपचारिक रूपमा गठन भएको छ । प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहबीच नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई पद तथा गोपनीयताको शपथ गराउँदै औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
कृष्णप्रसाद यादव मधेस प्रदेशका छैटौं मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको हो । लामो राजनीतिक छलफल, दलगत सहमति र सत्ता साझेदारीसम्बन्धी वार्ता निष्कर्षमा पुगेपछि यादव नेतृत्वको नयाँ गठबन्धन सरकार बनेको हो ।
मुख्यमन्त्रीमा नियुक्त हुन यादवले प्रदेशसभामा रहेको सात दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनमत पार्टी र अन्य केही स्वतन्त्र सांसद समेत गरी ७७ जना प्रदेश सांसदको समर्थन प्राप्त गर्नुभएको छ ।
सत्तागठबन्धनका नेताहरूले प्रदेश राजनीतिक रूपमा अस्थिर बन्दै गएको अवस्थालाई अन्त्य गर्दै स्थिरता, सहमति र सहयोगी शासन प्रणालीको पक्षमा नयाँ सरकार गठन भएको बताएका छन् ।
मुख्यमन्त्रीसँगै नवगठित मन्त्रिपरिषद्का तीन मन्त्रीले पनि आजै शपथ ग्रहण गरेका छन् । महेशप्रसाद यादव जनमत पार्टीबाट अर्थमन्त्री,जगीलाल राय नेपाली कांग्रेसबाट विनाविभागीय मन्त्री, कनिश पटेल नेकपा (एकीकृत समाजवादी) बाट विनाविभागीय मन्त्री बनेका छन ।
तीनैजनालाई पनि प्रदेश प्रमुख डा. कर्णले नै पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । सरकार विस्तार चरणबद्ध रूपमा अघि बढाइने जनाइएको छ ।
शपथग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका वरिष्ठ नेता, प्रदेशसभा सदस्य, प्रमुख सचिव, प्रदेश सरकारी अधिकारी, सुरक्षाकर्मीका पदाधिकारी तथा पूर्वमुख्यमन्त्रीहरू उपस्थित थिए । समारोह औपचारिक वातावरणमा सम्पन्न भएको थियो ।
सहभागी दलका नेताहरूले नयाँ सरकार प्रदेशको समृद्धि तथा विकासका एजेण्डामा केन्द्रित हुने विश्वास व्यक्त गरेका छन । स्थायी सरकार सञ्चालन, आर्थिक सुशासन, राजस्व सुधार, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण, कृषि आधुनिकीकरण र मधेस प्रदेशमा दीर्घकालीन समस्या बनेका सीमाना, जातीय तथा भाषिक समावेशीताका मुद्दामा पनि सरकारले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
शपथग्रहणपछि छोटो प्रतिक्रिया दिँदै मुख्यमन्त्री यादवले प्रदेशमा स्थिरता, सुशासन र विकासलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मधेस प्रदेशको आर्थिक क्षमता विस्तार, युवा रोजगारी, कृषि उत्पादनमा आधुनिकीकरण र उद्योग–व्यापार प्रवद्र्धन गर्दै ‘समावेशी सरकारी संरचना’ निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले प्रदेशमा विगतलाई पुनरावृत्ति गर्ने खालका राजनीतिक कटुता र द्धन्द्वरहित नयाँ संस्कृतिको सुरुवात हुने विश्वास पनि प्रकट गर्नुभयो ।
मधेस प्रदेशले विगत केही महिनासम्म सरकार गठन, विश्वासको मत, गठबन्धनको उतार–चढाव तथा राजनीतिक अस्थिरता झेल्दै आएको थियो । नयाँ गठबन्धनको सहमतिले प्रदेशमा राजनीतिक स्थिरताको नयाँ संकेत देखिएको विश्लेषण गरिन्छ ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, सात दलको संयुक्त समर्थनले प्रदेशमा नीतिनिर्माण र विकास कार्यक्रम अघि बढाउन सहज वातावरण बनाउने सम्भावना छ । तर, बहुदलीय गठबन्धन भएकाले आन्तरिक समन्वय र सहकार्यलाई मजबुत बनाउनु सरकारका लागि महत्वपूर्ण चुनौती हुनेछ ।
प्रतिक्रिया दिनुहोस्