ललितपुर, १६ मंसिर । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म राजधानी काठमाडौँमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले तीनदिने महाधिवेशनका लागि मिति टुंग्याउँदै, त्यसअघिका सबै संरचनागत तथा प्राविधिक काम समयमै सम्पन्न गर्न विस्तृत कार्यतालिका पारित गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
गत असोज २८ गतेदेखि निरन्तर जारी केन्द्रीय समितिको बैठक सोमबार निष्कर्षमा पुगेपछि महाधिवेशन तयारीसँग सम्बन्धित मुख्य निर्णय सार्वजनिक गरिएको हो । डा. महतका अनुसार पार्टीले क्रियाशील सदस्यता वितरणदेखि अधिवेशनहरूको मिति निर्धारणसम्मका सबै चरणलाई व्यवस्थित ढंगले अघि बढाउने तयारी गरेको छ ।
बैठकले सर्वप्रथम क्रियाशील सदस्यताका विषयमा विस्तृत कार्यतालिका स्वीकृत गरेको छ । अनुसार, यही मङ्सिर २० गतेभित्र क्रियाशील सदस्य वितरण प्रारम्भिक रूपमा टुंगोमा पु¥याइनेछ भने मङ्सिर २४ गतेसम्म सदस्यता नवीकरण अन्तिमरूपमा सम्पन्न गरिनेछ । पार्टीका अंग तथा भातृ–शुभेच्छुक संस्थाको सुझावसमेत समेटेर पुस ८ गतेसम्म नयाँ क्रियाशील सदस्यसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरिने निर्णय बैठकले गरेको छ ।
डा. महतका अनुसार, नयाँ क्रियाशील सदस्य वितरणमा समावेशीता, युवाको प्रतिनिधित्व र हालै पार्टी प्रवेश गरेका व्यक्तिहरूलाई प्राथमिकतापूर्वक समेटिनेछ । पार्टीभित्रको संरचनागत सुदृढीकरण र आन्तरिक लोकतन्त्रलाई सबल राख्न यसपटक सदस्यता प्रक्रियामा कडाइका साथै पारदर्शिता कायम राखिने प्रवक्ता महतको भनाइ छ ।
बैठकले महाधिवेशनअघि सबै तहका अधिवेशनहरू निर्धारित समयमै सम्पन्न गर्न विस्तृत तालिका पारित गरेको छ । अनुसार, पुस १५ गतेभित्र जनसम्पर्क समितिहरूको अधिवेशन सम्पन्न गरिनेछ ।
पुस १६ गते गाउँ तथा नगर वडास्तरका अधिवेशन,पुस १७ गते गाउँ तथा नगरपालिका अधिवेशन,पुस १९ गते प्रदेश क्षेत्रीय अधिवेशन,पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन, पुस २२ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको अधिवेशन र पुस २३ र २४ गते सातै प्रदेशका अधिवेशन गरिने छ ।
यी सबै अधिवेशनहरू निर्धारित समयभित्र सम्पन्न भई पुस २६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका लागि आवश्यक प्रतिनिधिहरू चयन हुनेछन् । कांग्रेस भित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले यस्ता समयसीमाहरू सावधानीपूर्वक तोकिएको महतले बताउनुभयो ।
बैठकले मङ्सिर २३ गते सकिन लागेको कांग्रेस केन्द्रीय समितिको म्याद आगामी माघ महिनाको अन्त्यसम्म थप गर्ने निर्णय पनि गरेको छ । कोरोना महामारीपछिको व्यवस्थापन, प्रदेश तथा जिल्ला अधिवेशन बाँकी रहेको तथा महाधिवेशन तयारीका कारण केही समय थप आवश्यक भएको प्रष्ट पार्दै प्रवक्ता महतले समितिको म्याद विस्तार निर्णय व्यावहारिक बाध्यताअनुरूप भएको बताउनुभयो ।
महाधिवेशन मिति नजिकिँदै जाँदा पार्टीले कार्यदलहरू सक्रिय बनाएको, आर्थिक तथा व्यवस्थापकीय पक्षहरू सुदृढ बनाइएको र प्रतिनिधि व्यवस्थापन तथा विधि–विधान संशोधन सम्बन्धि प्रारूप तयार पारिने कार्य भइरहेको पनि बैठकले जनाएको छ । महाधिवेशनलाई भव्य, व्यवस्थित र आन्तरिक लोकतान्त्रिक परम्पराअनुकूल सम्पन्न गर्ने तयारी पार्टीले अघि बढाएको छ ।
नेपाली कांग्रेसको यसपटकको महाधिवेशन पार्टीभित्रको नेतृत्व चयन, नीति–कार्यक्रम निर्धारण र संगठन सुदृढीकरणका दृष्टिले महत्वपूर्ण मानिएको छ । क्रियाशील सदस्यता प्रक्रियासँगै तल्लो तहदेखि केन्द्रसम्म हुने अधिवेशनको गतिलो व्यवस्थापन पार्टीको आन्तरिक गतिशीलता र लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण सूचक बन्ने विश्लेषकहरूको भनाइ छ ।
पार्टीले तय गरेको समयतालिका अनुसार सबै प्रक्रिया तय समयमै सम्पन्न भए पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन पूर्णतया प्रतिनिधिमूलक, व्यवस्थित र सहभागीपूर्ण हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्