मुख्यमन्त्री नियुक्ति विवाद : मधेश भवन अगाडि टायर बालेर प्रदर्शन

काठडमाडौं, २४ कात्तिक । मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । नेता–कार्यकर्ताहरुले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसँगै मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेपछि यही कात्तिक २२ गते प्रदेश सभा बैठकमा राजीनामा दिएका थिए । एमालेबाट प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दल एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेसमा दलहरु असन्तुष्ट भएका छन् ।

उपचारका लागि काठमाडौं जाने भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा पुगेर यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएपछि असन्तुष्ट दलहरु विरोधमा उत्रिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेश भवन आउने सूचना पाएपछि विरोधमा रहेका दलका नेता–कार्यकर्ताहरुले उनलाई रोक्ने प्रयासमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने प्रदेश प्रमुखको राजीनामा माग समेत गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्