काठमाडौँ, २३ असोज । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अर्को महिना दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत र इरानसँग खेल्ने मंगलवार जानकारी दिएको छ। दुबै खेल भारतको सिलोङमा हुनेछ।
नेपालले पहिलो खेल कात्तिक ७ गते (अक्टोबर २४) इरान र कात्तिक १० गते आयोजक भारतसँग खेल्नेछ। यसअघि नेपाल र भारतबीच सिक्किममा खेल हुने तय भएको थियो।
नेपाली महिला टोलीले पछिल्लो पटक जुलाईमा एएफसी एसियन कप छनोट खेलेको थियो। उज्वेकिस्तानसँग अंक, गोलअन्तर सबै बराबरी भएपछिको पेनाल्टी सुटआउटमा पराजित हुँदै नेपाल छनोटबाट बाहिरिएको थियो।
महिला टोलीका लागि एन्फाले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनले प्रारम्भिक टोलीको नाम सार्वजनिक गरिसकेका छन्।
हाल व्यवसायिक फुटबलका लागि राष्ट्रिय टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’ न्युजिल्यान्ड, गोलकिपर एन्जिला तुम्बापो सुब्बा भारत र प्रीति राई जोर्डनमा छिन् ।
प्रतिक्रिया दिनुहोस्