काठमाडौँ, १० असोज । नवीन न्यौपाने राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको छ । यसअघि न्यौपानेले राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण सम्हालिसक्नु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्मका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । न्यौपानेलाई बिहीबार एन्फा कम्प्लेक्समा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गर्नु भएको छ ।
एन्फाको युवा परियोजना प्रमुख रहनु भएका न्यौपाने गत महिना यु २३ पुरुष टोलीको मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । भगवती थापा र राजकुमार केसीलाई टोलीका सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
महिला राष्ट्रिय टोलीमा बिन्द्रा देवान टिम म्यानेजर, शिला गिरी फिजियोथेरापिस्ट र विकास गुरुङ किट म्यानेजरको भूमिकामा निरन्तर रहने भएका छन् । यसअघि विदेशी प्रशिक्षक प्याट्रिक डि वाइल्डले एएफसी महिला एसियन कप छनोटमा नेपाली टोलीको नेतृत्व गर्नु भएको थियो ।
सो छनोट निकै विवादस्पद बनेपछि प्रशिक्षक प्याट्रिकले राजीनामा दिनु भएको थियो । यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको एन्फाले नयाँ प्रशिक्षकलाई जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्