फिल्म ‘मैझारो’ कार्तिक ७ गतेबाट प्रदर्शन हुने

काठमाडौँ, २३ भदौ । फिल्म ‘मैझारो’ कार्तिक ७ गतेबाट प्रदर्शन हुने भएको छ । कलाकार विल्सन विक्रम राईको डेव्यु निर्देशनमा निर्माण भैरहेको फिल्म ‘मैझारो’को प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको बिहीबार दुई पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ७ गते भाइटीकाको भोलीपल्टबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
फिल्मका सार्वजनिक दुईमध्ये एक पोस्टरमा तीन मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दीया पुन देखिएका छन् । उनीहरुलाई लिम्बू पहिरनमा देख्न सकिन्छ । यो पोस्टरले सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको संकेत गर्छ ।
दोस्रो पोस्टरमा धीरज र मिरुनालाई प्रेमिल मुद्रामा प्रस्तुत गरिएको छ । धीरजले बन्चरो समातेका छन् भने मिरुना कुर्था–सुरुवालमा धीरजतर्फ नजर लगाइरहेकी छन् । पृष्ठभूमिमा चिया बगानको मनमोहक दृश्य देखिन्छ । यसले धीरजप्रति मिरुनाको आकर्षणलाई दर्शाएको छ । यो फिल्म पूर्वी पहाडको जीवनशैली, संस्कृति र प्रेमकथामा आधारित रहेको जनाइएको छ ।
अभिनेता तथा निर्देशक राई स्वयंको लेखन रहेको ‘मैझारो’मा धीरज, मिरुना र दीयासहित बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ लगायतको अभिनय रहेको छ । यसमा अभिनेता दयाहाङ राई विशेष भूमिकामा छन् । डिबी राई र सरिना लामा निर्माता रहेको फिल्ममा सौरभ लामाको छायांकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्