काठमाडौँ, १३ साउन । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को दोस्रो गीत सार्वजनिक गरिएको छ । भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे’ को दोस्रो गीत आइतबार सार्वजनिक गरिएको हो ।
‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको गायन, हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेममा रहेका जोडीहरूको भावना व्यक्त छ ।
सुनिल क्षेत्रीको कोरियोग्राफीमा रहेको डान्सिङ शैलीको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर र गौरव पहाडी नृत्य गर्दै देखिएका छन् ।
गीतमा प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंगदेखि प्रेमिकाको स्वभाव र आनीबानीको प्रशंसा गरिएको छ । ठूलो संख्यामा कोरस राखिएको भिडियोमा विजयको नृत्य शैली रोचक छ ।
यसअघि फिल्म ‘जनै हराएको मान्छेःसम्बन्धका धागाहरू’को ‘आमा’ गीत सार्वजनिक भइसकेको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्द, संगीत तथा स्वर रहेको छ । गायनमा पोखरेललाई मनिषा सुनुवारल साथ दिएकी छिन् । गीतले चलचित्रको सार बोलेको छ ।
चलचित्रको मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष र खाएको हन्डरसम्म गीतमा समावेश गरिएको छ । इमोस्नल गीतमा आमाको ऋण तिर्न र आँखाको आँसु पुछ्न काठमाडौं आएको भाव पोखिएको छ ।
तर, घर छोडेर हिँड्दा सुरुमा जसरी काठमाडौं सहज र सरल होला भन्ने आम मान्छेले सोचेको हुन्छ, काठमाडौं भने ठिक त्यसको विपरीत रहेको गीतले बताउँछ ।
आमालाई सुख दिन्छु भनेर आएको छोराले जब काठमाडौंमा अनेकन हन्डर ठक्कर खान्छ अनि उसलाई अब बाँचेर घर फर्किन्न कि भन्ने झैँ लाग्ने गरेको गीकथाबस्तुले गीतमा भावुक बनाएको छ ।
हिमाल न्यौपानेले निर्देशनमा बनेको फिल्ममा विजय, केकी, मिरुना र गौरवसहित सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतको अभिनय रहेको छ ।
भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो फिल्मलाई पेपरक्लिपका कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् ।
मनिष राउत एसोसिएट निर्देशक रहेको फिल्मको कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन हुन् ।
फिल्ममा नवीन गुरुङ र कृष्ण परियारको छायांकन, साहिल खानको टिजर–ट्रेलर, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर तथा चुल्ठे काजीको द्वन्द्व निर्देशन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्