मुस्ताङ, २४ असार । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नति गरिएको हो ।
मुक्तिनाथ मन्दिर परिसरको साविकको संरचना नखल्बलिने गरी सामाजिक विकास कार्यालयमार्फत छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिए । मुक्तिनाथ परिसरमा छप्पनी ढुङ्गा बिछ्याउनका लागि कोटेशन ठेक्का लगाइएको थियो । मन्दिर परिसर, कुण्ड र १०८ धारातर्फ छप्पनी ढुङ्गा बिछ्याउन खिङ्गा कन्स्ट्रक्सनले जिम्मा पाएको थियो ।
कार्यालयको सीमित बजेट भएकाले पूर्ण रूपमा परिसर वरिपरि छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न हुन नसकेको प्रालिका प्रतिनिधि लाक्पाटसी गुरुङले बताउनुभयो । उहाँका अनुसार सामाजिक विकास कार्यालयमार्फत तीन हजार १४० स्क्वायर फिट छप्पनी ढुङ्गा बिछ्याउने काम सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्