काठमाडौँ, २२ असार । फिल्म ‘मिरमिरे’को छायांकन सुरुभएको छ । यस फिल्ममा अभिनेता द्वय दयाहाङ राई र प्रकाश सपूतले पहिलो पटक सहकार्य गरेको हो। एक हप्ता वर्कसपमा बसेको निर्माण टिमले शनिबार पनौती नगरपालिका वडा नं। ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालयमा क्यामेरा पूजा गर्दै छायांकन थालेको हो । ३५ दिनको सेड्युलमा फिल्मको सम्पूर्ण छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।
यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा दयाहाङ र प्रकाशसँगै सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतको अभिनय रहनेछ भने बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल रहेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने छ ।
फिल्मको छायाँकारमा आलोक शुक्ला रहेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ तथा कार्यकारी निर्मातामा वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल छन् । ‘मिरमिरे’ यसै वर्ष प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्