सुदूरपश्चिम यू–१९ महिला क्रिकेट प्रतियोगितामा डडेल्धुराको जित

बैतडी, १९ असार । सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा डडेल्धुराले कञ्चनपुरलाई ५ रनले पराजित गर्दै यो जित हासिल गरेको हो ।
  कैलालीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १६ दशमलव ५ ओभरमा सवै विकेट गुमाएर ८८ रन बनायो । उनानब्बे रनको विजयी लक्ष्य पछ्याउने क्रममा कञ्चनपुरको पारी नौ विकेट गुमाउँदै ८३ रनमा समेटियो ।
डडेल्धुराका लागि हीरा साउदले २४ रनको अविजित पारी खेलिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । बलिङतर्फ कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गङ्गा खड्काले एक विकेट लिइन् ।
यसअघि ब्याटिङ गर्ने क्रममा कञ्चनपुरका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् । बलिङतर्फ मनिषा खत्री र हीरा साउदले २–२ तथा आशिका महरा, सञ्जु साउद र निशा खठायतले १–१ विकेट लिइन् ।
उपाधिसँगै डडेल्धुराले रु दुई लाख पुरस्कार तथा कञ्चनपुरले रु एक लाख पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता खेलाडीलाई  सुदूरपश्चिम  प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्कालगायतले पुरस्कार वितरण गरे । प्रदेश खेलकुद परिषद्को आयोजनामा यही असार १२ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका  ८ जिल्ला सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्