काठमाडौँ, १८ असार । नेकपा (माओवादी केन्द्र) ले पत्रकार सम्मेलन गरी विभिन्न विषयमा धारणा सार्वजनिक गरेको छ। प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी सरकारको वैद्यता राजनीतिक रूपमा समाप्त भएको बताएका छन । उनले कुलिङ पिरियडदेखि किसानलाई मल आवश्यक परेकोसम्म विषयमा धारणा सार्वजनिक गरेका हुन्।
साथै उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान संघीय सरकारको वैद्यता राजनीतिक रूपमा समाप्त भएको पनि बताएका थिए।
सरकारका गतिविधिलाई लिएर सत्तारूढ दल नेपाली कांग्रेसका कतिपय नेताहरू सन्तुष्ट नरहेको कुराहरू आइरहेको पनि उनले बताएका थिए।
‘हामी यो सरकार ढाल्न ज्यान छाडेर लागेका छैनौं, जनतासँगै छौं,’ सापकोटाले भने, ‘अहिले सानेपा ९कांग्रेस कार्यालय० मा पनि यो बहस चलिरहेको छ, त्यहाँभित्र नै अन्तरविरोध भइरहेको छ, उकुसमुकुस भइरहेको छ।’
कांग्रेसमा निकै ठूलो अन्तरविरोध भइरहेको दाबी उनको थियो।
‘यो सरकार धेरै दिन टिक्दैन, कांग्रेसभित्रका अन्तरविरोधका सूचना हामीलाई प्राप्त भएको छ,’ उनले भने, ‘बजेट चार, पाँच जिल्लामा केन्द्रित हुँदा एमाले र कांग्रेसभित्र सांसदहरू सन्तुष्ट छैनन्, त्यसकारण पनि यो सरकारको आयु धेरै लामो छैन।’
प्रतिक्रिया दिनुहोस्