पृथ्वी राजमार्गको तीन ठाउँमा सडक भासियो,काठमाडौँ–हेटौँडा आवागमनका लागि नयाँ रुट

काठमाडौँ, १७ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गको नौबिसे–मलेखु खण्डमा सडकको तल्लो भाग कटान गरेपछि तीन स्थानमा सडक भासिएको छ । राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख मार्गमा क्षति पुगेपछि यातायात सञ्चालन प्रभावित भएको छ भने सडक पूर्णरूपमा सञ्चालनमा ल्याउन वैकल्पिक मार्गको अध्ययनसमेत थालिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार मुग्लिनबाट करिब २३ किलोमिटर काठमाडौँतर्फ पर्ने बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा सबैभन्दा बढी क्षति भएको छ । त्यहाँ करिब २०० मिटर सडक भासिएको छ भने सडकको भित्तातर्फको डाँडासमेत चिरिएको छ ।

मलेखुबाट करिब तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा करिब ५० मिटर सडक भासिएको छ । त्यस्तै, मलेखु पुलबाट करिब एक किलोमिटर काठमाडौँतर्फ पर्ने परेवाभीरमा पनि करिब १०० मिटर सडकको छेउ भासिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार त्रिशूली नदीले कृष्णभीरलगायतका क्षेत्रमा अझै सडकको फेद कटान गरिरहेको छ । नदीको बहावमा आएको परिवर्तन र गेग्रानसहितको बाढीका कारण सडक किनारमा निर्माण गरिएको रिटेनिङ वालसमेत बगाएको छ ।

आयोजनाको पश्चिम खण्डका प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीका अनुसार नदीको सतह घट्ने–बढ्ने क्रमसँगै सडकको तल्लो भागमा कटान जारी छ । चट्टान भएका स्थानमा तुलनात्मक रूपमा कम क्षति भए पनि कमजोर भूभागमा नदीको कटानले जोखिम बढाएको उहाँले बताउनुभयो ।

इञ्जिनियर मिश्रका अनुसार यस वर्ष त्रिशूली नदीले आफ्नो धार परिवर्तन गर्दै सडकको भित्तातर्फ बढी दबाब सिर्जना गरेको छ । त्यस कारण सडकको आधार भागमा क्षति पुगेको हो ।
“ठूलो बाढीले धार परिवर्तन गरेर दुवैतर्फ क्षति बनाएको छ,” उहाँले बताउनुभयो ।

कृष्णभीरमा तत्काल मर्मत गरेर सडक सञ्चालनमा ल्याउन कठिन देखिएको आयोजनाले जनाएको छ । अन्य दुई स्थानमा भने अस्थायी उपाय अपनाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको छ ।

सीतल बजारमा सडकको भित्तो काटेर तत्काल मार्ग सञ्चालन गर्ने तयारी गरिएको छ । परेवाभीरमा पनि तलबाट काम गर्न सक्ने अवस्था नरहेकाले भित्तो केही काटेर सडकको तल्लो भाग सम्याउने तयारी गरिएको छ ।
आयोजनाका पूर्वी खण्डका इञ्जिनियर राजीव मानन्धरका अनुसार परेवाभीरमा नदीतर्फको करिब १०० मिटर भाग भासिएको छ ।

थप क्षति हुने जोखिम रहेकाले अत्यावश्यकबाहेकका सवारीसाधन रोकिएको छ । त्यहाँ सडक सञ्चालनसँगै भित्तातर्फ रहेका विद्युत्का पोलसमेत सार्ने तयारी गरिएको छ ।

नौबिसे–मलेखु खण्डमा क्षति भएका तीनमध्ये दुई स्थानमा मर्मत सम्भव देखिए पनि कृष्णभीर तत्काल सञ्चालनमा ल्याउन कठिन भएपछि गोरखातर्फबाट वैकल्पिक सडक प्रयोग गर्ने सम्भावनाबारे अध्ययन थालिएको छ ।
राजमार्ग सञ्चालनमा आएको अवस्थामा यस क्षेत्रमा नियमित रूपमा ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

आयोजनाका अनुसार राजधानी जोड्ने यस सडकबाट दैनिक करिब १४ हजार सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।यसैगरी, भोटेकोशी बाढीपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भएपछि प्रहरी प्रधान कार्यालयले काठमाडौँ र हेटौँडाबीच सञ्चालन हुने सवारीसाधनका लागि नयाँ रुट निर्धारण गरेको छ ।

दश चक्कासम्मका मालवाहक तथा ठूला यात्रुबाहक सवारीसाधनलाई हेटौँडाबाट काठमाडौँतर्फ त्रिभुवन राजपथ हुँदै जाने व्यवस्था गरिएको छ । काठमाडौँबाट मकवानपुर फर्किने क्रममा भने त्यस्ता सवारीसाधनले कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।

मौसम, सडकको अवस्था र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ जाने यात्रुबाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारीसाधनका लागि पनि छुट्टै रुट तोकिएको छ । काठमाडौँबाट हेटौँडातर्फ जाँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी जाने र हेटौँडाबाट काठमाडौँतर्फ आउँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने व्यवस्था गरिएको छ ।

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर भएकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई उक्त पुल प्रयोग नगरी नजिकैको डाइभर्सनमार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
विपद्को अवस्था कायम रहेकाले प्रहरीले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

राजमार्गमा सवारी चालकलाई धैर्य र अनुशासनपूर्वक आफ्नो पालोअनुसार सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्