गण्डकी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल जारी

गण्डकी, १० असार । गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल जारी छ । सरकारले सार्वजनिक गरेको आव २०८२र८३ को बजेटमा प्रदेशसभाका सांसदहरूले जनसङ्ख्या र भूगोलका आधारमा बजेट वितरण हुन नसकेको बताएका छन् ।
सोमबार बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरूले समन्यायिक ढङ्गले नभई पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको गुनासो गरेका छन् ।
सांसद कुसुम बुढामगरले जनसङ्ख्या र भूगोलका आधारमा बजेट वितरण हुन नसकेको बताउँदै बजेट निर्माणमा प्रदेश सरकारको उद्देश्य र प्राथमिकता स्पष्ट नभएको उनको भनाइ छ ।
सांसद महेश भट्टराईले बजेट निर्माणमा कर्मचारी संयन्त्र हाबी भएको गुनासो उनको थियो । उनले सांसदका माग र सुझावलाई थन्काएर बजेट ल्याइएको बताए । सीमित ठाउँमा बजेट केन्द्रित गरेर प्रदेशको समग्र विकास नहुन भन्दै उनले बजेटको आवश्यकता र प्राथमिकता नमिलेको धारणा व्यक्त गरे ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमाथिको छलफलमा सांसद गणेशमान गुरुङले गौरवका आयोजनामा बजेट कम छुट्याएर टुक्रे आयोजनामा केन्द्रित बनेको बताए।
सांसद रेशमबहादुर जुग्जालीले उद्योग क्षेत्रलाई मठमन्दिरलाई बढी बजेट छुट्याएकामा प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले नीति तथा कार्यक्रमभन्दा फरक तरिकाले बजेट आएको बताए । बजेट निर्माणमा कर्मचारीको अनावश्यक चासो र हस्तक्षेप भएको भन्दै उनले त्यसलाई सरकारले रोक्न नसकेको बताए ।
प्रदेशसभा सदस्य पञ्चराम गुरुङले वार्षिक बजेटमा पारदर्शिता ल्याउनुपर्ने बताए । त्यस्तै, बजेटको मन्त्रालयगत छलफलमा सांसदहरू रेखा गुरुङ, श्यामराजा महतलगायतले भाग लिएका थिए । यही असार १ गते सार्वजनिक प्रदेश सरकारको आगामी आवको बजेट र विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्