बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन

बाजुरा, २५ जेठ । बाजुरा बाम्का बजार आगलागी पीडितलाई राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन गरेको छ । बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको हो । गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छभने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब रु १५ करोडभन्दा बढी क्षति भएको बताइएको छ ।

राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ ।

शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए ।

बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले रु एक लाख राहतस्वरुप सहयोग गरेको छ । बुढीनन्दा नगरप्रमुख बोहराले अग्निपीडित राहत व्यवस्थापन समितिका संयोजक बानियाँलाई रु एक लाख नगद हस्तान्तरण गर्नुभएको बुढीगङ्गा –६ का वडाध्यक्ष जैशीले जानकारी दिए।

आगलागीपीडितका लागि राहत वितरण तथा पुनःस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको नगरप्रमुखले बताए । विपत्तिका बेला सबै स्थानीय तहले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्