भोजपुर, २३ कात्तिकः आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै भोजपुरका गाउँघरमा तिहार मनाउने मौलिक परम्परा क्रमशः हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएका परम्परागत संस्कार, विधि र स्थानीय सामग्रीको प्रयोग घट्दै जाँदा तिहारको मौलिकता कमजोर बन्दै गएको हो ।
स्थानीय वृद्धवृद्धाका अनुसार तिहारका मौलिक परम्परा केवल पर्व मनाउने विधिमात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचान र पुस्तौँदेखिको अनुभवसँग जोडिएका छन् । नयाँपुस्ताले पुराना परम्पराको महत्व बुझेर त्यसलाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ छ ।
पहिले गाउँघरमा तिहार मनाउँदा स्थानीयस्तरमा उपलब्ध सामग्रीको प्रयोग गरी विभिन्न परम्परा निभाउने गरिन्थ्यो । विशेषगरी दीपावलीका समयमा केराको दाम्चा (बोक्रा)मा बत्ती बाल्ने चलन रहेकामा अहिले आधुनिक बत्ती तथा अन्य सामग्रीको प्रयोग बढेसँगै यस्ता मौलिक अभ्यास हराउँदै गएको टेम्केमैयुङ गाउँपालिका–५ की ७३ वर्षीया मनमाया विष्टले बताउनुभयो ।
उहाँका अनुसार पहिले तिहारमा घरआँगन उज्यालो बनाउन केराको दाम्चामा बाती राखेर बाल्ने गरिन्थ्यो । गाउँघरमा उपलब्ध सामग्री प्रयोग गरेर पर्व मनाउने चलन थियो । समय परिवर्तनसँगै आधुनिक बत्तीको प्रयोग बढेपछि पुराना परम्परा विस्तारै ओझेलमा पर्दै गएको उहाँको भनाइ छ ।
गाउँघरमा तिहारका अवसरमा सामूहिक रूपमा देउसीभैलो खेल्ने, स्थानीय भाका गाउने र परम्परागत सामग्रीको प्रयोग गर्ने चलन बढी रहेकामा त्यो पनि हराउँदै गएको ९० वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताउनुभयो ।
यस्ता गतिविधिले गाउँमा आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको थियो । अहिले आधुनिक मनोरञ्जनका साधनको प्रयोग तथा बदलिँदो जीवनशैलीका कारण परम्परागत अभ्यासमा कमी आएको उहाँको भनाइ छ ।
तिहार नेपालीको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यस पर्वमा घरआँगन सफा गर्ने, दीप प्रज्ज्वलन गर्ने, देउसीभैलो खेल्ने, काग, कुकुर, गाई र गोरुको पूजा गर्ने तथा भाइटीका लगाउने परम्परा रहिआएको छ । समयसँगै पर्व मनाउने शैलीमा परिवर्तन आउँदा कतिपय स्थानीय मौलिक अभ्यास लोप हुने अवस्थामा पुगेका छन् ।
आधुनिकताको विकाससँगै सहजता र सुविधा बढ्नु सकारात्मक भए पनि मौलिक संस्कृति र परम्परा हराउन नदिन आवश्यक पहल गर्नुपर्ने स्थानीय जानकारहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्