काठमाडौँ, १८ कात्तिक । नेपाली लघुचलचित्र ‘नर’ दोस्रो काठमाडौँ हरर फिल्म फेस्टिभल–२०२६ मा सर्वोत्कृष्ट घोषित भएको छ । आकाश धिमालको निर्देशनमा बनेको उक्त चलचित्रले दर्शकको सर्वाधिक मत प्राप्त गर्दै उत्कृष्ट लघुचलचित्रको पुरस्कार जितेको हो ।
काठमाडौँस्थित रसियन हाउसमा आइतबार सम्पन्न महोत्सवको समापन समारोहमा ‘नर’लाई विजेता घोषणा गरिएको हो । महोत्सवमा प्रतिस्पर्धाका लागि प्रस्तुत गरिएका १८ लघुचलचित्रमध्ये दर्शकको रोजाइमा ‘नर’ परेको आयोजकले जनाएको छ ।
यसैगरी नादिम ताबेत निर्देशित ‘इन दी डार्कनेस आई सी यु’ उत्कृष्ट फिचर चलचित्र घोषित भएको छ । फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त निर्माण रहेको उक्त चलचित्रले पनि दर्शकको मतका आधारमा अवार्ड प्राप्त गरेको हो ।
कात्तिक १३ देखि १७ गतेसम्म आयोजना गरिएको दोस्रो संस्करणको महोत्सवमा विभिन्न देशका हरर विधाका चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्रमार्फत डर, रहस्य, मनोवैज्ञानिक द्वन्द्व तथा सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्ने उद्देश्यसहित आयोजित महोत्सवमा प्रतिकूल मौसमका बाबजुद दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
महोत्सवको समापन मोराद मुस्तफाद्वारा निर्देशित चलचित्र ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शनसँगै गरिएको थियो । इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको यस चलचित्रले आप्रवासी महिलाले भोग्नुपरेका सामाजिक चुनौती र सङ्घर्षलाई पर्दामा उतारेको छ ।
चलचित्रको कथा इजिप्टको काइरोस्थित ऐन सम्स क्षेत्रमा बसोबास गर्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको जीवनमा केन्द्रित छ । इजिप्टेली र अफ्रिकी आप्रवासीबीचको तनाव तथा आपराधिक समूहको प्रभाव रहेको बस्तीमा उनले सामना गर्नुपरेका कठिनाइ चलचित्रमा देखाइएको छ ।
समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनालले नेपालमा हरर विधाका चलचित्रको विकास र प्रवद्र्धनका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यस्तै, नेपालस्थित रुसी दूतावासका उपनियोग प्रमुख रिनचेन राक्सायेभले चलचित्रलाई नेपाल र रुसबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौँकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्