काठमाडौँ, १३ कात्तिक । इंग्लिस लिग कप (काराबाओ कप) को क्वार्टरफाइनलमा पुग्ने क्रममा लिभरपुल र म्यानचेस्टर सिटीले पेनाल्टी सुटआउटको रोमाञ्चक चुनौती पार गरेका छन् । बुधबार राति भएका खेलमा दुवै टोलीले निर्धारित समयमा बराबरी खेलेपछि पेनाल्टीमा जित निकालेका हुन् । लिभरपुलले चेल्सीलाई ६–५ तथा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–३ ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरे ।
दुवै खेलमा गोलरक्षकको प्रदर्शन निर्णायक बन्यो । लिभरपुलका जिओर्गी मामार्दासभिली र सिटीका जेरोनिमो रुल्लीले विपक्षी खेलाडीका प्रहार रोक्दै आफ्ना टोलीलाई प्रतियोगितामा अघि बढाउन महत्वपूर्ण भूमिका खेले ।
एनफिल्डमा भएको प्रतिस्पर्धामा लिभरपुल र चेल्सीले निर्धारित ९० मिनेटमा १–१ को बराबरी खेले । खेलको ४०औँ मिनेटमा मोर्गन रोजर्सले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्ज्युरी समयअघि कोडी गाक्पोले गोल गरेपछि लिभरपुल खेलमा फर्कियो ।
दोस्रो हाफमा दुवै टोलीले निर्णायक गोलको प्रयास गरे पनि सफल हुन सकेनन् । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
पेनाल्टीमा लिभरपुलका कोस्टास सिमिकास र रायन ग्राभेनबर्च गोल गर्न चुके । तर गोलरक्षक मामार्दासभिलीले इमानुएल एमेघाको प्रहार रोकेपछि खेलको समीकरण बदलियो । त्यसपछि जो गोमेजले गोल गरे भने चेल्सीका वेस्ली फोफानाको प्रहार बारमाथिबाट बाहिरिएसँगै लिभरपुलले ६–५ को जित हासिल ग¥यो ।
यस जितसँगै लिभरपुलले चेल्सीविरुद्ध लिग कपको पेनाल्टी सुटआउटमा लगातार पाँचौँ जित निकालेको छ । १० पटकको लिग कप विजेता लिभरपुलले क्वार्टरफाइनलमा बर्नमाउथसँग आफ्नै मैदानमा खेल्नेछ ।
अर्को खेलमा म्यानचेस्टर सिटीले ब्राइटनसँग २–२ को बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो । सिटीका गोलरक्षक रुल्लीले दुई पेनाल्टी बचाउँदै टोलीलाई क्वार्टरफाइनलमा पु¥याए ।
घरेलु मैदानमा ब्राइटनले ३०औँ मिनेटमा मालिक याल्कुएकै गोलबाट अग्रता लिएको थियो । जर्जिनियो रुटरको क्रसमा उनले गोल गरेका थिए । पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा माटेओ कोभाचिचले लामो दूरीबाट गोल गर्दै सिटीलाई बराबरीमा ल्याए ।
दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै रुटरले जाउएन हाजामको पासमा गोल गरेपछि ब्राइटनले पुनः अग्रता लियो । तर ६२औँ मिनेटमा रयान चेर्कीको फ्रिकिकमा भिटर रेसले गोल गरेपछि सिटीले खेल बराबरीमा ल्यायो ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल पेनाल्टीमा पुग्यो । रुल्लीले यासिन आयारी र लुइस डंकका प्रहार रोकेपछि सिटीले जित सुनिश्चित ग¥यो । अब सिटीले क्वार्टरफाइनलमा लिग वान क्लब ब्राडफोर्ड सिटीको सामना गर्नेछ ।
प्रतियोगिताको चौथो चरणका अन्य खेलमा बर्नमाउथ, क्रिस्टल प्यालेस र सन्डरल्यान्डले पनि जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाए । बर्नमाउथले एस्टन भिल्लालाई ३–० ले हराउँदा क्रिस्टल प्यालेसले फुलहमलाई १–० ले पराजित ग¥यो । त्यस्तै सन्डरल्यान्डले ब्रेन्टफोर्डमाथि ३–२ को जित निकाल्यो ।
निर्णायक क्षणमा गोलरक्षकको प्रदर्शन र पेनाल्टीमा खेलाडीको दबाब सामना गर्ने क्षमताले प्रतियोगिताको चौथो चरणलाई रोमाञ्चक बनाएको छ । अब क्वार्टरफाइनलमा पुग्ने टोलीको लक्ष्य उपाधि यात्रालाई थप मजबुत बनाउनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्