गोरखा, २५ असोजः चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताउनुभयो ।
चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उहाँले बताउनुभयो । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिनुभयो ।
आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ ।
प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत(सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ ।
यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ ।बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।
स्यार खोलामा थुनिएर आएको बाढीले बूढीगण्डकी नदीमा बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्