काठमाडौँ, २१ असोज । नेपाली चलचित्रमा नयाँ पुस्ताका निर्देशकका रूपमा ओविद उद्दिनले प्रवेश गरेका छन् । हरर जनरामा निर्माण भएको चलचित्र ‘भिडियोटेप’को छायांकन पूरा भएसँगै उद्दिनको निर्देशकीय यात्रा औपचारिक रूपमा अघि बढेको हो । उपल्लो मुस्ताङदेखि काठमाडौंसम्म छायांकन गरिएको चलचित्रलाई यसै वर्ष दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षले गरेको छ ।
एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘भिडियोटेप’को शुक्रबार काठमाडौंको एक क्लबमा अन्तिम दृश्य खिचिएको हो । अन्तिम दृश्यसँगै चलचित्रको ३१ दिने छायांकन यात्रा पूरा भएको निर्माण पक्षले जनाएको छ । चलचित्रको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङबाट सुरु गरिएको थियो । त्यहाँको भौगोलिक तथा प्राकृतिक परिवेशमा लामो समय छायांकन गरेपछि निर्माण टोली अन्तिम तीन दिनका लागि काठमाडौं फर्किएको थियो ।
चलचित्रको कथा बाइक राइडरसँग सम्बन्धित रहेको निर्माण पक्षले जनाएको छ । बाइक राइडिङसँग जोडिएको कथालाई हरर शैलीमा प्रस्तुत गर्न खोजिएकाले चलचित्रको दृश्यात्मक पक्षमा पनि विशेष ध्यान दिइएको छ । नेपाली चलचित्रमा बाइक राइडिङको पृष्ठभूमिमा आधारित हरर कथाको प्रयोग कम हुँदै आएको अवस्थामा ‘भिडियोटेप’को कथावस्तु र प्रस्तुतीकरण दर्शकका लागि फरक हुन सक्ने निर्माण पक्षको अपेक्षा छ ।
चलचित्रको निर्देशन ओविद उद्दिनले गरेका हुन् । यो उनको पहिलो निर्देशकीय चलचित्र हो । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि निर्माण तथा प्रदर्शनसँग जोडिएका परिवारबाट आएका उद्दिनका लागि ‘भिडियोटेप’ निर्देशकीय यात्राको सुरुआत बनेको छ ।
उद्दिन क्यूएफएक्सका सञ्चालक तथा चलचित्र निर्माता नकिम उद्दिनका छोरा हुन् । नकिमले ‘सानो संसार’लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।
चलचित्र क्षेत्रमा पारिवारिक पृष्ठभूमि भए पनि ओविदले निर्देशनमा आफ्नै शैली स्थापित गर्ने प्रयासका रूपमा ‘भिडियोटेप’लाई अघि बढाएका छन् । चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी र कुन्दनमान शाक्य मुख्य भूमिकामा छन् । कुन्दन अभिनेता कर्मा शाक्यका भाइ हुन् । ‘भिडियोटेप’ उनको मुख्य भूमिकामा रहेको पहिलो चलचित्रसमेत हो ।
नयाँ कलाकारलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको चलचित्रमा अनुभवी तथा नयाँ पुस्ताका कलाकारको मिश्रण गरिएको छ । चलचित्रमा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका पात्र तथा उनीहरूको भूमिकाबारे निर्माण पक्षले धेरै विवरण सार्वजनिक गरेको छैन ।
उपल्लो मुस्ताङमा गरिएको छायांकन चलचित्रको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ । हिमाली भूगोल, त्यहाँको प्राकृतिक वातावरण तथा सुनसान परिवेशलाई कथाको आवश्यकताअनुसार उपयोग गरिएको निर्माण पक्षले जनाएको छ । हरर चलचित्रका लागि स्थानको वातावरणले सिर्जना गर्ने मनोवैज्ञानिक प्रभावलाई महत्वपूर्ण मानिने भएकाले उपल्लो मुस्ताङको छनोटले चलचित्रको दृश्यात्मक पक्षलाई फरक बनाउन सक्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्