नारायणी नदी र महाकाली नदीमा पानीको बहावले खतरा तह नाघ्यो

 

११ असोज, धनगढी । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

पानीको सतह एक लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

पानीले खतरा तह नाघेपछि शारदा ब्यारेज हुँदै दुवै देशतर्फ आउजाउ गर्ने सवारीसाधन रोकिएका हुन् ।

बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेको छ । सोही कारण महाकालीमा पानीको तह उच्च हुँदै गएको छ ।

निरन्तरको वर्षााका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

मौसममा सुधार नआएपछि सोमबार बिहानसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।
यसैगरी,११ असोज, काठमाडौं । नारायणी नदीको देवघाटमा बाढी बढिरहेको छ । हाल त्यहाँको जल सतहले खतरा तह पार गरिसकेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा समाचार तयार पार्दासम्म पानीको बहाव १०।८ मिटर पुगेको छ । जबकि यहाँको खतराको तह ९ मिटर र चेतावनीको तह ७।४ मिटर हो ।

नदीको बहावले खतराको तह पार गरेकोले त्यस क्षेत्रमा डुबानको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदीको बहाव अझै बढिरहेकोले साँझैसम्म सतर्कता अपनाउने सरोकारवालाले आग्रहर गरेका छन् ।
यस्तै, पर्वतस्थित कालीगण्डकी, लमजुङस्थित चेपेखोला, म्याग्दीको मंगलघाट, चितवनकै रिउखोलामा पनि पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ ।

खतराको तह पार गरेका सबै नदी नारायणी बेसिनका स्टेशन रहेका क्षेत्रका हुन् ।

प्रतिक्रिया दिनुहोस्