काठमाडौँ, १८ भदौ । आगामी माघ २३ गतेदेखि फिल्म ‘रमिताको पिरती’ प्रदर्शनमा भएको छ । आइतबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तु र पात्रबारे चासो बढाएको छ । नेपाली सिनेमामा प्रायः पुरुष पात्रको वरिपरि कथा केन्द्रित हुने गरेको अवस्थामा ‘रमिताको पिरती’ भने महिला पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर निर्माण गरिएको छ ।
साँचो प्रेमको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढावलाई सिनेमाले मुख्य विषय बनाएको छ । रमिताको भूमिकामा अभिनेत्री आना शर्मा देखिनुभएको छ । सिनेमामा धिरज मगर र विनय श्रेष्ठको पनि प्रमुख भूमिका छ । यही सिनेमाबाट गायक समीर श्रेष्ठले अभिनयमा डेब्यु गर्नुभएको छ । रमिता, समीर र धिरजका पात्रको सम्बन्ध तथा उनीहरूको जीवनमा आउने भावनात्मक उतारचढावको सेरोफेरोमा कथा अघि बढ्छ ।
अभिनेत्री शर्माका अनुसार ‘रमिताको पिरती’ केवल प्रेम र ब्रेकअपको कथा होइन । ब्रेकअपपछि व्यक्तिले आफूलाई कसरी बुझ्छ, स्वीकार गर्छ र आफ्नो जीवनमा आफैँलाई प्राथमिकतामा राख्न सिक्छ भन्ने विषयलाई सिनेमाले प्रस्तुत गरेको छ ।
‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाइएको छ । सिनेमा ब्रेकअपबाट सुरु भए पनि यो केवल ब्रेकअपको कथा मात्र होइन, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो,’ शर्माले भन्नुभयो ।
रमिताको पात्रलाई पर्दामा जीवन्त बनाउन शर्माले निर्देशक सुदिप्तासँग करिब छ महिना काम गर्नुभएको थियो ।
पात्रको मनोविज्ञान र व्यवहारलाई बुझ्न निर्देशकसँग बसेर पात्र विकास, अभ्यास र तयारी गरेको उहाँले बताउनुभयो । ‘सिनेमा रिलिज हुने बेला आउँदा उत्साहित छु । यो सिनेमाको पात्र र भूमिका निकै खास छ,’ उहाँले भन्नुभयो ।
सिनेमामा शर्मा अभिनेत्रीका रूपमा मात्र सीमित हुनुहुन्न । उहाँ कार्यकारी निर्माताका रूपमा पनि जोडिनुभएको छ । सुरुवातमा स्क्रिप्ट सुनेर कलाकारका रूपमा परियोजनामा आबद्ध हुनुभएकी शर्मा निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्ने क्रममा कार्यकारी निर्माताको जिम्मेवारीमा पुग्नुभएको हो ।
सानो कोर टिमबाट सुरु भएको निर्माण प्रक्रियामा दैनिक छलफल, कार्यशाला र विभिन्न निर्णयमा सहभागी हुँदै जाँदा आफूले नयाँ जिम्मेवारी पाएको शर्माले बताउनुभयो । निर्माता सागर लम्सालले आफूलाई विश्वास गरेर कार्यकारी निर्माताको जिम्मेवारी दिएको उहाँको भनाइ छ । यो जिम्मेवारीले निर्माण प्रक्रियाका विभिन्न पक्ष बुझ्ने अवसरसँगै सिर्जनात्मक स्वतन्त्रताको अनुभवसमेत दिएको उहाँले बताउनुभयो ।
‘जिम्मेवारी धेरै हुन्छ, तर सिर्जनात्मक स्वतन्त्रता पनि उत्तिकै रमाइलो रहेछ,’ शर्माले भन्नुभयो ।‘रमिताको पिरती’ले विशेषगरी जेनजी पुस्ताका युवतीसँग जोडिने विषय उठाएको शर्माको भनाइ छ । आफूलाई माया र हेरचाह गर्न सके मात्र अरूलाई स्वस्थ रूपमा माया गर्न सकिन्छ भन्ने सन्देश सिनेमाले दिने उहाँको विश्वास छ ।
सामाजिक सञ्जालको प्रभाव, बाह्य स्वीकृतिको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्न सक्ने प्रभावलाई समेत कथामा समेटिएको उहाँले बताउनुभयो ।सिनेमामा समीर र शर्माका पात्रबीचको प्रेम सम्बन्धलाई विभिन्न गीतमार्फत प्रस्तुत गरिएको छ । प्रेमको सुरुआती चरण र दुई पात्रबीच विकास हुने सम्बन्धलाई गीतमार्फत देखाइएको छ ।
शर्माका लागि ‘रमिताको पिरती’ विशेष हुनुका तीन कारण छन् । उहाँका अनुसार यो पूर्ण रूपमा महिलाको कथामा आधारित छ, महिला निर्देशकले लेखन तथा निर्देशन गर्नुभएको छ र पहिलोपटक उहाँले कार्यकारी निर्माताको जिम्मेवारी सम्हाल्नुभएको छ ।
सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा आरपी प्रोडक्सन सह–निर्माता तथा सुवास कोइराला सह–निर्माता हुनुहुन्छ भने सागर लम्साल निर्माता हुनुहुन्छ । सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।
शिशिर विशंखेले डीओपीको जिम्मेवारी सम्हाल्नुभएको छ । सम्पादन सुनिल सिवाकोटीको रहेको सिनेमामा कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी छ । काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा उपत्यकाबाहिर एफडी कम्पनीले सिनेमा वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्