उद्धार र पुनर्निर्माणमा भारत, चीन र विश्व बैंकद्वारा सहयोगको प्रतिबद्धता

 

काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीले जनधनसँगै सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पु¥याएपछि सरकार उद्धार, राहत र पुनःस्थापनालाई तीव्र बनाउने प्रयासमा जुटेको छ । विपद्को क्षति गहिरिँदै जाँदा प्रभावितको उद्धार र आगामी पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकसहितका बाह्य साझेदारले समेत सहयोगको प्रतिबद्धता जनाएका छन् ।

बाढीपछि रसुवा, नुवाकोट र धादिङका नदी तथा तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार, घाइतेको उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न तथा आवासको व्यवस्था र अवरुद्ध पूर्वाधार सञ्चालनलाई प्राथमिकतामा राखेको छ । साथै, क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने प्रक्रिया पनि अघि बढाइएको छ ।

क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता आएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले आपत्कालीन सहयोगका रूपमा विभिन्न स्रोतबाट नेपाललाई २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका छन् । यो सहयोगको स्वरूप र परिचालनसम्बन्धी विषयमा सरकार र विश्व बैंकबीच थप समन्वय आवश्यक हुनेछ ।

छिमेकी भारतले पनि प्रभावितका लागि तत्काल आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनमार्फत कुराकानी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले कठिन परिस्थितिमा भारत नेपाली जनतासँग ऐक्यबद्ध रहेको उल्लेख गर्दै उद्धार तथा राहतका लागि आवश्यक मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताउनुभएको छ ।

चीनले पनि तत्काल नगद सहयोग उपलब्ध गराउने तयारी गरेको छ । चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन नेपाल सरकारसँग आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सीमा क्षेत्रमा गएको बाढी परेकाहरूको खोजी र उद्धार तीव्र पार्न निर्देशन दिनुभएको छ ।

यस्तै, रसुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले सङ्घले यो निर्णय गरेको हो ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल बैठकले रसुवाका बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो ।विपद्को गम्भीरताबीच राजनीतिक दलहरूले समेत नियमित राजनीतिक गतिविधिभन्दा उद्धार र राहतलाई प्राथमिकता दिने संकेत गरेका छन् ।

प्राकृतिक विपद्को अवस्थामा सरकारसँग सहकार्य गर्दै राहत तथा उद्धारमा परिचालित हुन राजनीतिक दलहरूले आह्वान गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र सबै राजनीतिक दललाई एकीकृत रूपमा राहत तथा उद्धारमा परिचालित हुन आग्रह गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले राजनीतिक दलसँग रहेका तालिमप्राप्त तथा विपद् व्यवस्थापनमा दक्ष जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालन गर्न आग्रह गर्नुभयो । नागरिकको जीवन रक्षा अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, नेपाली कांग्रेसले पनि पार्टीका सबै कार्यक्रम स्थगित गरी राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकमा सभापति गगनकुमार थापाले बाढीबाट सिर्जित गम्भीर अवस्थालाई ध्यानमा राख्दै तत्काल उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेसले आफ्ना निर्धारित सबै कार्यक्रम स्थगित गरी राहत तथा उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले रसुवामा आएको अप्रत्याशित बाढीबाट उत्पन्न गम्भीर परिस्थितिमा तत्काल उद्धार तथा राहत कार्यमा जुट्न निर्देशन दिनुभएको छ ।

यस्तै,नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुर क्षेत्रमा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा तीव्रता दिन सरकार र सर्वपक्षीय निकायसँग अपिल गरेको छ । पार्टी संयोजक प्रचण्डको अध्यक्षतामा बुधबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठकले प्राकृतिक विपद्बाट उत्पन्न संकट व्यवस्थापनका लागि १० बुँदे निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता, जनसंगठनका सदस्य र जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहत कार्यमा सक्रिय रूपमा जुट्न निर्देशन दिएको छ ।
सडक, पुल, जलविद्युत्, सीमा नाका, बस्ती र अन्य संरचनामा पुगेको क्षतिले पुनःस्थापनाका लागि ठूलो स्रोत, समय र अन्तरनिकाय समन्वय आवश्यक पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्