कठमाडौं, ९ भदौ । स्थानीयका माग सम्बोधन गर्ने विषयमा आयोजना पक्ष र प्रभावित क्षेत्रका बासिन्दाबीच सहमति जुटेपछि ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको अडिट–२ निर्माण पुनः सुचारु भएको छ । १४ बुँदे सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले दुई दिनदेखि निर्माण कार्य बन्द गराएपछि आयोजना प्रभावित क्षेत्रमा काम रोकिएको थियो ।
आयोजना पक्ष, स्थानीय संघर्ष समिति र सम्बन्धित स्थानीय तहबीच भएको छलफलमा तत्काल सम्बोधन गर्नुपर्ने पूर्वाधार, सामाजिक तथा रोजगारीसँग सम्बन्धित विषयमा सहमति भएपछि अवरोध हटाइएको हो । सहमतिपछि अडिट–२ अन्तर्गत रोकिएको निर्माण कार्य पुनः सञ्चालनमा आएको आयोजना पक्षले जनाएको छ ।
तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाको अडिट–२ बाट प्रत्यक्ष प्रभावित बिगु गाउँपालिका–२ र गौरीशंकर गाउँपालिका–८ का स्थानीयले यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै निर्माण कार्यमा अवरोध गरेका थिए । विशेषगरी सडक, खानेपानी, धार्मिकस्थल पुनःस्थापना, तटबन्ध, मोटरेबल पुल तथा स्थानीयलाई रोजगारीलगायतका विषय लामो समयदेखि उठ्दै आएको थियो ।
नयाँ सहमतिअनुसार बिगु गाउँपालिका–२ मा अडिट–२ बाट मौर हुँदै बिगु–२ याङ्जुङ जोड्ने सडक निर्माण तथा स्तरोन्नतिका लागि त्रिपक्षीय लगत तयार गरिने भएको छ । आर्थिक वर्ष २०८३÷८४ मा विनियोजन गरिएको बजेट तथा सम्बन्धित वडाबाट छुट्याइएको रकम प्रयोग गरी सडकसम्बन्धी काम अघि बढाउने सहमति भएको छ ।
त्यस्तै, बिगु–२ को देउलाङ र औराडडाँडा जोड्ने हाङ्ज खोला सडकको स्तरोन्नति तथा आवश्यक सफाइका लागि कानुनी प्रक्रियाअनुसार पहल गर्ने सहमति भएको छ । आयोजना निर्माणका कारण प्रभावित स्थानीयको आवागमन सहज बनाउन सडक पूर्वाधारलाई प्राथमिकतामा राखिएको आयोजना पक्षले जनाएको छ ।
खानेपानीको समस्या समाधानका लागि पनि आयोजनाले प्रतिबद्धता जनाएको छ । बिगु तथा औराड क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले सुक्खायाममा पानीको बहाव कम भएको समयमा स्रोतको नापजाँच गरिनेछ । त्यसपछि आवश्यक लगत तयार गरी आगामी आर्थिक वर्षको बजेटबाट खानेपानीसम्बन्धी काम अघि बढाउने सहमति भएको छ ।
आयोजना निर्माणका क्रममा क्षति पुगेको धार्मिकस्थल पुनःस्थापनाको विषयमा पनि सहमति भएको छ । स्थानीयले उपयुक्त स्थानमा जग्गा उपलब्ध गराएपछि १० दिनभित्र निर्माण कम्पनी सिनो हाइड्रोमार्फत पुनःनिर्माण सुरु गर्ने सहमति भएको जनाइएको छ । यसले आयोजना निर्माणका क्रममा सांस्कृतिक तथा धार्मिक सम्पदामा परेको असरलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
निर्माणका क्रममा तयार भएको मोटरेबल पुललाई आयोजना सम्पन्न भएपछि पनि यथास्थितिमा राख्न आवश्यक सहजीकरण गर्ने सहमति भएको छ । स्थानीयका लागि दीर्घकालीन रूपमा उपयोगी हुने पूर्वाधार संरक्षण गर्ने विषयलाई समेत सहमतिमा समेटिएको छ ।
स्थानीय रोजगारीको विषयले समेत नयाँ सहमतिमा प्राथमिकता पाएको छ । अडिट–२ र अडिट–३ बाट अति प्रभावित स्थानीय जनशक्तिलाई उनीहरूको दक्षता, योग्यता र आवश्यकताका आधारमा रोजगारीमा प्राथमिकता दिने सहमति भएको छ । आयोजनाबाट स्थानीयले प्रत्यक्ष लाभ पाउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो ।
यसअघि २०८१ पुस १४ गते आयोजना पक्ष र स्थानीयबीच विभिन्न विषयमा सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले पुनः निर्माण रोक्न बाध्य भएको बताएका थिए । काम रोकिएपछि आयोजना प्रमुख हेमन्त भट्टसहित आयोजना प्रतिनिधि तथा स्थानीयका तर्फबाट शिक्षक अमृत आचार्य, वडाध्यक्ष दीपक ठकुरीलगायत वार्तामा सहभागी भएका थिए ।
स्थानीयसँगको विवाद तत्कालका लागि समाधान भएसँगै आयोजनाको निर्माण कार्यले पुनः गति लिने अपेक्षा गरिएको छ । हाल आयोजनाको समग्र भौतिक प्रगति करिब २५ प्रतिशत पुगेको छ । ठूलो लगानी र रणनीतिक महत्त्व बोकेको आयोजना भएकाले निर्माणमा आउने स्थानीय अवरोध समाधान गर्दै निर्धारित समयमै काम अघि बढाउनु आयोजना पक्षका लागि चुनौतीपूर्ण देखिएको छ ।
तामाकोसी पाँचौँको निर्माणसँगै प्रभावित क्षेत्रका स्थानीयले अपेक्षा गरेका पूर्वाधार विकास र रोजगारीका विषयलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने देखिन्छ । पछिल्लो सहमतिले आयोजना र स्थानीयबीचको सम्बन्ध सुधार गर्दै निर्माणलाई निरन्तरता दिने आधार तयार गरेको छ ।
प्रतिक्रिया दिनुहोस्