काठमाडौं, २१ साउन । आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ । काठमाडौंस्थित लबिम मलमा आयोजित विशेष कार्यक्रममार्फत निर्माण टिमले चलचित्रको १ मिनेट ५१ सेकेन्ड लामो टिजर सार्वजनिक गर्दै कथावस्तु, पात्र र चलचित्रको भावनात्मक पक्षबारे पहिलो झलक प्रस्तुत गरेको हो ।
सार्वजनिक टिजरले पहिलो भागको कथालाई निरन्तरता दिँदै पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको मनमुटाव, परिवारभित्रको तनाव र भावनात्मक उतारचढावलाई केन्द्रमा राखेको संकेत दिएको छ । यसपटक पनि पारिवारिक कथा नै चलचित्रको मुख्य आधार भए पनि केही नयाँ रहस्य र अप्रत्याशित मोड समावेश गरिएको निर्माण टिमको संकेत छ ।
टिजरको सुरुवातमै अभिनेत्री हिउँवाला गौतमले निभाएको पात्र मध्यरातमा घर छाडेर हिँडेको दृश्य देखाइएको छ । त्यसपछि परिवारका सदस्यहरू उनको खोजीमा लागेका दृश्यले कथा रहस्यमय बन्दै गएको आभास गराउँछ । यसले पहिलो भागमा देखाइएको पारिवारिक सम्बन्धलाई अझ गहिराइमा विस्तार गरिएको अनुमान गर्न सकिन्छ ।
टिजरको अर्को आकर्षण अभिनेता आर्यन सिग्देलको फरक अवतार बनेको छ । उनी साङ्लोले बाँधिएको अवस्थामा देखिएपछि उनको पात्र कस्तो हुनेछ भन्ने जिज्ञासा दर्शकमाझ बढेको छ । निर्माण टिमले उनको भूमिकाबारे धेरै खुलाएको छैन, तर टिजरले उनी कथाको महत्वपूर्ण मोडसँग जोडिएको पात्र रहेको संकेत दिएको छ ।
निर्देशक ज्ञानेन्द्र देउजाले पहिलो भागमा जस्तै पारिवारिक कथा, गाउँघरको परिवेश र नेपाली समाजमा देखिने सम्बन्धका जटिल पक्षलाई दोस्रो भागमा पनि निरन्तरता दिएका छन् । यसपटक कथालाई अझ भावनात्मक, रहस्यमय र नाटकीय बनाउने प्रयास गरिएको टिजरबाट अनुमान गर्न सकिन्छ ।
चलचित्रमा आँचल शर्मा र केकी अधिकारी पुनः देउरानी–जेठानीको भूमिकामा देखिएका छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा छन् । यसबाहेक सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनकले तयार पार्नुभएको हो भने कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेख्नुभएको छ । चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ । चलचित्रको नेपालभर वितरण एप्पल इन्टरटेन्मेन्टले गर्नेछ ।
‘झिँगेदाउ’ पहिलो भागले पारिवारिक कथावस्तु र ग्रामीण परिवेशका कारण दर्शकमाझ राम्रो चर्चा कमाएको थियो । दोस्रो भागको टिजरले पनि त्यही भावनात्मक आधारलाई निरन्तरता दिँदै रहस्य र नयाँ पात्रको प्रवेशमार्फत कथा अझ रोचक बनाउने संकेत दिएको छ । टिजर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता बढेको निर्माण टिमको विश्वास छ । अब चलचित्रले प्रदर्शनपछि पहिलो भागको सफलता दोहोर्याउन सक्छ वा सक्दैन भन्ने विषयमा फिल्मकर्मी र दर्शक दुवैको चासो केन्द्रित भएको छ ।
प्रतिक्रिया दिनुहोस्