काठमाडौं, १९ साउन । वैदेशिक रोजगारीका कारण नेपाली परिवारमा आउने भावनात्मक दूरी, प्रेम, प्रतीक्षा र पुनर्मिलनको आशालाई केन्द्रमा राखेर तयार गरिएको नयाँ गीत ‘पानी खोलाको’ सार्वजनिक भएको छ । आधुनिक लोक लयमा आधारित यो गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतले नेपाली समाजको एउटा यथार्थ कथा प्रस्तुत गर्छ । विवाहपछि सुखद भविष्य निर्माण गर्ने सपना बोकेर विदेशिन बाध्य हुने श्रीमान् र गाउँमै उनको प्रतीक्षामा बस्ने श्रीमतीको भावनात्मक सम्बन्धलाई गीतले संवेदनशील रूपमा चित्रण गरेको छ । वैदेशिक रोजगारीले आर्थिक अवसर दिए पनि परिवारमा सिर्जना हुने दूरी, सम्झना र मनोवैज्ञानिक असरलाई गीतका शब्द र दृश्यले प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् ।
गीतका शब्द गीतकार तथा निर्माता बद्री दाहाल ‘अनन्त’ ले लेख्नु भएको छ । अमेरिकामा बसोबास गर्दै आउनु भएको दाहालले विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिसँगको सम्बन्धलाई निरन्तरता दिँदै आउनु भएको छ । उहाँका अनुसार नेपाली समाजका वास्तविक कथा र नेपालीपनको सुगन्ध बोकेका सिर्जनामार्फत प्रवास र मातृभूमिबीचको भावनात्मक सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले यो गीत तयार गरिएको हो ।
गीतमा राजु तामाङ र मेलिना राई को सुमधुर स्वर रहेको छ । जसले गीतलाई थप मार्मिक बनाएको छ । संगीतकार केवल थिङ (लामा) ले संगीत सिर्जना गर्नुभएको छ भने संगीत संयोजन सचिन सिंह ले गर्नुभएको छ । आधुनिक लोक शैलीमा तयार गरिएको गीतले समकालीन संगीत र नेपाली मौलिकतालाई सन्तुलित रूपमा प्रस्तुत गरेको छ ।
गीतको भिडियो पनि कथावस्तुसँग मेल खाने गरी निर्माण गरिएको छ । भिडियोमा श्रीदेव भट्टराई र ज्योति खड्का नवविवाहित दम्पतीको भूमिकामा देखिएका छन् । उनीहरूको अभिनयले वैदेशिक रोजगारीका कारण अलग हुनुपर्ने दम्पतीको पीडा, सम्झना र पुनर्मिलनको आशालाई जीवन्त बनाएको छ । विशेषगरी श्रीमतीको प्रतीक्षा र श्रीमान्को विदेशी संघर्षलाई दृश्यात्मक रूपमा प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशन नवल नेपाल ले गर्नुभएको छ । छायांकन ईश्वर सिंकेमन, सम्पादन नहकुल खड्का तथा व्यवस्थापन सूर्य ओली ले सम्हाल्नु भएको छ । प्राविधिक पक्षमा पनि भिडियो आकर्षक देखिएको छ ।
पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीको विषयलाई केन्द्रमा राखेर बनेका गीतहरूले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘पानी खोलाको’ पनि त्यही यथार्थलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने अर्को प्रयासका रूपमा आएको छ । प्रेम, त्याग, प्रतीक्षा र परिवारको मूल्यलाई समेटेको यो गीतले विशेषगरी वैदेशिक रोजगारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका नेपालीको मन छुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्