तीन दिन भारी वर्षा र आकस्मिक बाढीको जोखिम,नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

 

काठमाडौं, १९ साउन । मनसुन सक्रिय भएसँगै आगामी तीन दिन देशका विभिन्न भूभागमा भारी वर्षा र आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार विभागले विशेष गरी केही प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याउँदै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । विभागले वर्षाको मात्र संकेत दिएको छैन, यससँगै आउने आकस्मिक बाढी, नदीको बहाव वृद्धि र सम्भावित डुबानको जोखिम पनि उल्लेखनीय रूपमा बढ्ने चेतावनी दिएको छ ।

विभागका अनुसार मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । बुधबार पनि यी प्रदेशका उच्च भूभागसँगै लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा तीव्र हुने सम्भावना रहेको छ । यस अवधिमा निरन्तर वर्षा हुने भएकाले भू–सतहमा पानी जम्ने, नदी–खोलामा बहाव बढ्ने र पहिरो तथा डुबानको जोखिम थप बढ्ने अनुमान गरिएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढ्न सक्छ । विशेष गरी काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम औँल्याइएको छ ।

यसका साथै ताप्लेजुङदेखि नवलपरासीसम्मका धेरै जिल्लामा मध्यम जोखिम कायम रहने पूर्वानुमान छ । ती जिल्लामा नदीको सतह बढ्ने, किनार क्षेत्रमा कटान हुने तथा होचा भूभागमा पानी जम्ने सम्भावना रहेको छ । यस्ता क्षेत्रहरूमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागले ‘सुन्तला रङ’ को जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । यस्ता क्षेत्रहरूमा प्रायः नदी किनार, खोलानाला आसपासका बस्ती तथा डुबान हुने सम्भावना भएका होचा भूभाग पर्छन् ।
यस्ता स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सर्ने तयारी अवस्थामा रहन, स्थानीय प्रशासनका निर्देशन पालना गर्न तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न सुझाव दिइएको छ ।

विशेषज्ञहरूका अनुसार नेपालमा मनसुनको समयमा स–साना खोलानालाबाट आउने आकस्मिक बाढी ठूलो नदीभन्दा पनि बढी जोखिमपूर्ण हुने गर्दछ । ती बाढी अचानक आउने र छोटो समयमा ठूलो क्षति पु¥याउन सक्ने भएकाले पूर्वतयारी अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद् व्यवस्थापन समितिहरूले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई पूर्वतयारीमा जुट्न अपिल गरेका छन् । प्रशासनहरुले जारी गरेको सूचनामा अत्यधिक वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, डुबान र कटान हुने तथा पहिरो जान सक्ने सम्भावना उल्लेख गरिएको छ ।

समितिले विपद् न्यूनीकरणका लागि आश्रयस्थल र खुला क्षेत्र पहिचान गर्न, परिवारका सदस्यहरूबीच आपतकालीन योजना बनाउने तथा आवश्यक सामग्री तयारी अवस्थामा राख्न सुझाव दिएको छ ।यसअन्तर्गत नागरिकता, जग्गाधनी प्रमाणपत्र, शैक्षिक कागजातजस्ता महत्वपूर्ण कागजात सुरक्षित राख्न, नगद धनमाल व्यवस्थित गर्न र आकस्मिक अवस्थाका लागि ‘इमर्जेन्सी झोला’ तयार गर्न भनिएको छ ।

उक्त झोलामा सुक्खा खानेकुरा, स्वच्छ पिउने पानी, आवश्यक औषधि, टर्चलाइट, रेडियो तथा प्राथमिक उपचार सामग्री राख्न सुझाव दिइएको छ । यस्ता तयारीले आकस्मिक अवस्थामा तत्काल राहत पाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
विभागले विशेष गरी नदी किनार, खोलानाला र पहिरो सम्भावित क्षेत्रतर्फ अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ ।

वर्षाका बेला सडकमा पानी जम्ने, पहिरो खस्ने तथा दृश्यता कम हुने भएकाले यात्रामा सावधानी अपनाउनुपर्ने देखिन्छ । विशेषगरी ग्रामीण तथा पहाडी क्षेत्रका सडकहरूमा जोखिम बढी हुने भएकाले यातायात सञ्चालनमा पनि असर पर्न सक्ने अनुमान गरिएको छ । यसकारण यात्रु तथा सवारी चालकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव दिइएको छ ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकाय २४ सै घण्टा तयारी अवस्थामा रहेको जनाइएको छ । कुनै पनि आकस्मिक अवस्था उत्पन्न भएमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र वा सुरक्षा निकायमा जानकारी दिन आग्रह गरिएको छ ।

प्रशासनले नागरिकलाई सतर्क रहनुका साथै आवश्यक परे सहयोग माग्न ढिलाइ नगर्न अनुरोध गरेको छ ।नेपालमा मनसुन वर्षा हरेक वर्ष नियमित रूपमा आउने भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप अस्थिर र तीव्र बन्दै गएको देखिन्छ । छोटो समयमा अत्यधिक वर्षा हुने प्रवृत्ति बढ्दा बाढी, पहिरो र डुबानका घटना पनि बढिरहेका छन् ।

जलवायु परिवर्तन, अनियोजित शहरीकरण, नदी किनारमा अव्यवस्थित बसोबास तथा प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले जोखिम अझ जटिल बनाएको छ । विशेषगरी काठमाडौं उपत्यकामा बढ्दो कंक्रिट संरचना र कमजोर जलनिकास प्रणालीका कारण सामान्य वर्षामै पानी जम्ने समस्या देखिँदै आएको छ ।

विभागले दिएको चेतावनी केवल औपचारिक सूचना नभई सम्भावित जोखिमको संकेत हो । यस्तो अवस्थामा नागरिकको सचेतता, पूर्वतयारी र सरकारी निकायको समन्वयले मात्र क्षति न्यून गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्