काठमाडौं, १० साउन । ज्योति विकास बैंकले स्थापनाको १८औँ वार्षिकोत्सव विभिन्न सामाजिक, स्वास्थ्य तथा संस्थागत कार्यक्रम आयोजना गर्दै मनाएको छ । वि.सं. २०६५ साल साउन ९ गते स्थापना भएको बैंकले १८ वर्षको यात्रा पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम, कर्मचारी सम्मान, रक्तदान, स्वास्थ्य शिविर तथा विभिन्न साझेदारीका योजना सार्वजनिक गरेको हो ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का ले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समितिका सदस्य, पूर्वअध्यक्ष, पूर्वसञ्चालक, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । अध्यक्ष खड्काले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालित ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत स्वास्थ्य र सामाजिक क्षेत्रमा केन्द्रित दुई महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ ।
बैंकले तिलगंगा इन्स्टिच्युट अफ अफ्थाल्मोलोजी सँग सहकार्य गर्दै ४० जना विपन्न तथा लक्षित वर्गका नागरिकको निःशुल्क मोतिबिन्दु तथा आँखासम्बन्धी शल्यक्रियामा सहयोग गर्ने सम्झौता गरेको छ । बैंकका अनुसार आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई दृष्टि फर्काउन सहयोग पु¥याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसले दृष्टिविहीनताको जोखिममा रहेका नागरिकको जीवनस्तर सुधार गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा दुर्गम तथा स्रोत–साधनको अभाव भएका स्वास्थ्य संस्थामा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर जडान गरिने भएको छ । यी उपकरणले जन्मिएलगत्तै शरीरको तापक्रम घट्ने जोखिममा रहेका नवजात शिशुको जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा नवजात शिशुको मृत्यु दर घटाउन यस्तो उपकरण उपयोगी हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।
बैंकले यी कार्यक्रममार्फत वित्तीय संस्थाको भूमिका केवल बैंकिङ सेवामा सीमित नराखी सामाजिक विकास, सार्वजनिक स्वास्थ्य र समावेशी सेवामा समेत विस्तार गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले कर्मचारी तथा उनीहरूका बालबालिकाको प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले तेस्रो संस्करणको प्रतिभा तथा सिर्जनशीलता प्रतियोगिता पनि आयोजना गरेको थियो । विभिन्न सांस्कृतिक, कलात्मक र सिर्जनात्मक विधामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल ले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अन्य सहभागीलाई पनि प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सामाजिक सेवालाई निरन्तरता दिँदै बैंकले केन्द्रीय कार्यालय तथा देशभरका शाखाहरूमा स्वेच्छिक रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा कर्मचारी, ग्राहक तथा सर्वसाधारण गरी करिब ५५ जनाले रक्तदान गरेका थिए । साथै कर्मचारीहरूको स्वास्थ्य अवस्थाको नियमित निगरानीका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर पनि आयोजना गरिएको थियो, जसमा उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ ।
संस्थाको विकासमा दीर्घकालीन योगदान पु¥याएका कर्मचारीलाई पनि बैंकले विशेष सम्मान गरेको छ । बैंकमा १० वर्ष तथा १५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको समर्पण, निष्ठा र योगदानको उच्च मूल्याङ्कन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हरिचन्द्र खड्काले बैंकको १८ वर्षको सफल यात्रामा ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाले गरेको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि गुणस्तरीय बैंकिङ सेवा, डिजिटल प्रविधिको विस्तार र सामाजिक उत्तरदायित्वलाई समान प्राथमिकताका साथ अघि बढाइने बताउनु भयो ।
प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापक सञ्चालक, पूर्वअध्यक्ष, कर्मचारी, ग्राहक तथा शेयरधनीप्रति कृतज्ञता व्यक्त गर्दै बैंकले दिगो विकास, वित्तीय समावेशिता र नवप्रवर्तनलाई केन्द्रमा राखेर सेवा विस्तार गरिरहेको बताउनु भयो ।
बैंकका अनुसार स्थापनाकालदेखि हालसम्म प्रत्यक्ष रूपमा तीन हजारभन्दा बढी परिवारलाई रोजगारी उपलब्ध गराइएको छ । साथै चालु आर्थिक वर्षको असार मसान्तसम्म बैंकले करिब ७६ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको जनाएको छ, जसले राष्ट्रिय अर्थतन्त्रमा बैंकको योगदानलाई पनि प्रतिबिम्बित गर्छ ।
हाल ज्योति विकास बैंकले देशभर ११७ शाखा कार्यालय, तीन विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ, वित्तीय पहुँच विस्तार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा र दिगो विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्