नीर शाह ‘प्रिन्स’मार्फत फेरि निर्देशन यात्रामा

काठमाडौं ,५ साउन । करिब एक दशकपछि निर्देशनमा फर्किएका वरिष्ठ चलचित्रकर्मी नीर शाह फेरि नयाँ चलचित्र निर्माणमा जुटेका छन् । उहाँको निर्देशनमा बनेको ‘कमला मिस’ प्रदर्शनमा आउन अझै केही दिन बाँकी रहँदा उहाँले अर्को चलचित्र ‘प्रिन्स’ को निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको बताउनु भयो । यसले नीर शाह अब निर्देशनलाई निरन्तरता दिने तयारीमा रहेको देखिन्छ ।

शुक्रबार चलचित्रको पहिलो गीत रेकर्ड गर्दै ‘प्रिन्स’ को निर्माण शुभारम्भ गरिएको हो । रेड चिल्ली फिन टेकको ब्यानरमा बन्ने चलचित्रको गीतमा नीर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत र गायक शिव परियारको स्वर रहेको छ । चलचित्रको कथा पनि शाह स्वयंले तयार पार्नु भएको हो भने पटकथा तथा संवाद लेखक शिवम् अधिकारीको रहेको छ ।

चलचित्रको छायांकन आगामी भदौ महिनादेखि सुरु हुने निर्माण टिमले जनाएको छ । अनुभवी छायाकार सौरभ लामाले छायांकन गर्ने जनाइएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा (प्रेम बम्जन) लाइन प्रोड्युसरको जिम्मेवारीमा रहनेछन् । कलाकार र अन्य प्राविधिक टोलीको नाम भने केही दिनमै सार्वजनिक गरिने निर्देशक शाहले जानकारी दिनुभयो ।

निर्देशक शाहका अनुसार ‘प्रिन्स’ अहिले नेपाली चलचित्रमा बनिरहेका कथाभन्दा फरक विषयवस्तुमा आधारित हुनेछ । दर्शकलाई नयाँ स्वाद र फरक अनुभव दिने उद्देश्यले कथा विकास गरिएको उहाँले बताउनु भयो । “दोहोरिएका शैलीभन्दा बाहिर गएर नयाँ कथा भन्न खोजेका छौं,” उहाँको भनाइ छ ।

नीर शाह नेपाली चलचित्र उद्योगका केही यस्ता सर्जकमध्ये पर्छन्, जसले अभिनय, निर्देशन, लेखन र निर्माण सबै क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । ‘मसान’, ‘बासुदेव’, ‘वसन्ती’, ‘पच्चिस वसन्त’ जस्ता चलचित्र आज पनि नेपाली सिनेमाका उत्कृष्ट कृतिका रूपमा स्मरण गरिन्छन् । यिनै चलचित्रले शाहलाई नेपाली फिल्म उद्योगको ‘भीष्म पितामह’ को पहिचान दिलाएको हो ।

सन् २०१५ मा ऐतिहासिक पृष्ठभूमिमा आधारित ‘सेतो बाघ’ निर्देशन गरेपछि शाह निर्देशनबाट केही समय टाढिएका थिए । हालै चलचित्र ‘परान’ मा गरेको प्रभावशाली अभिनयका लागि उहाँले आफ्नो करिअरकै पहिलो राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत उत्कृष्ट अभिनेताको सम्मान प्राप्त गर्नुभएको थियो ।

अब अभिनयमा मात्र सीमित नरही निर्देशकका रूपमा पनि सक्रिय हुने देखिएको छ । साउन २२ गते प्रदर्शनमा आउने ‘कमला मिस’ बाट निर्देशनमा पुनरागमन गर्नुभएको शाहले त्यसलगत्तै ‘प्रिन्स’ को घोषणा गर्नुले नेपाली चलचित्र क्षेत्रमा अनुभवी निर्देशकहरूको पुनः सक्रियता बढ्दै गएको संकेत दिएको छ ।

चलचित्रकर्मीहरूका अनुसार नयाँ पुस्ताका निर्देशकसँगै नीर शाहजस्ता अनुभवी सर्जकको पुनरागमनले नेपाली चलचित्र उद्योगमा पुस्तागत अनुभव र नयाँ सोचको संयोजन देखिने अपेक्षा गरिएको छ । त्यसैले ‘प्रिन्स’ अहिलेबाटै नेपाली फिल्मवृत्तमा चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्