नेपालगञ्ज भन्सारको राजस्वमा सामान्य गिरावट, २० अर्ब ११ करोड सङ्कलन

काठमाडौं, ३ साउन । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा २० अर्ब ११ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्वमा सामान्य गिरावट आए पनि कार्यालयले यसलाई अपेक्षाभन्दा कम भएको जनाएको छ । पेट्रोलियम पदार्थको आयातमा कमी आउनु तथा भारतले चिनी निकासीमा लगाएको प्रतिबन्धका कारण राजस्व सङ्कलनमा असर परेको कार्यालयको भनाइ छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन पौडेलका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यसको तुलनामा गत आर्थिक वर्षमा १६ करोड ४५ लाख रुपैयाँ कम राजस्व उठेको हो । यद्यपि समग्र आर्थिक गतिविधि, आयात–निर्यातको अवस्था तथा सीमापार व्यापारको प्रवृत्तिलाई हेर्दा यो कमी ठूलो नभएको उनको भनाइ छ ।

उनका अनुसार नेपालगञ्ज नाका हुँदै हुने व्यापारमा पेट्रोलियम पदार्थको हिस्सा उल्लेखनीय हुने भएकाले यसको आयात घट्दा राजस्वमा प्रत्यक्ष प्रभाव परेको हो । त्यसैगरी भारत सरकारले चिनी निकासीमा लगाएको प्रतिबन्धले चिनी आयात ठप्पजस्तै हुँदा भन्सार महसुलमा कमी आएको उनले बताए ।

नेपालगञ्ज भन्सार पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामध्ये एक हो । यस नाकाबाट पेट्रोलियम पदार्थ, ट्रेक्टर तथा ट्रेलर, पोलिथिनका कच्चा पदार्थ, चामल, अन्य खाद्यान्न, फलाम तथा विभिन्न औद्योगिक सामग्रीको आयात हुने गरेको छ । यी वस्तुहरूबाट सरकारले ठूलो परिमाणमा भन्सार राजस्व प्राप्त गर्दै आएको छ ।

आयातसँगै यस नाकाबाट जडीबुटी लगायतका नेपाली उत्पादन विदेश निर्यात हुने गरेका छन् । पछिल्ला वर्षहरूमा जडीबुटी तथा कृषि उत्पादनको निर्यात विस्तार गर्ने प्रयास भइरहे पनि आयातको तुलनामा निर्यात अझै न्यून रहेकाले व्यापार घाटा कायम रहेको अवस्था छ ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यसपछि आर्थिक वर्ष २०८१÷८२ मा उल्लेखनीय वृद्धि हुँदै राजस्व २० अर्ब २८ करोड रुपैयाँभन्दा माथि पुगेको थियो । यद्यपि गत आर्थिक वर्षमा भने राजस्व केही घटेर २० अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ ।

 

आर्थिक विश्लेषकहरूका अनुसार राजस्वको दीर्घकालीन वृद्धि सुनिश्चित गर्न आयातमा मात्र निर्भर रहने नीति पर्याप्त हुँदैन । उत्पादन, निर्यात तथा औद्योगिक गतिविधि विस्तार गर्न सके मात्रै राजस्वको दिगो आधार निर्माण हुन सक्छ । त्यसका लागि सीमावर्ती व्यापारलाई थप व्यवस्थित बनाउनुका साथै अवैध व्यापार नियन्त्रण, भन्सार प्रशासनको आधुनिकीकरण तथा निर्यात प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

सामान्य गिरावटका बाबजुद नेपालगञ्ज भन्सारले २० अर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल हुनु पश्चिम नेपालको व्यापारिक गतिविधि अझै सक्रिय रहेको संकेत मानिएको छ । आगामी दिनमा आयात–निर्यात सन्तुलन सुधार र व्यापार सहजीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए राजस्व सङ्कलनमा पुनः वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्