काठमाडौं, २१ साउन । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । बैंकले गत आर्थिक वर्षमा खुद नाफा, सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी तथा निक्षेप–कर्जा विस्तारमा उल्लेखनीय वृद्धि हासिल गरेको हो ।
वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा वृद्धिको प्रमुख कारण कर्जा नोक्सानी व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज)मा आएको उल्लेखनीय कमीलाई मानिएको छ । यो खर्च अघिल्लो वर्षको ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ ।
त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १६ अर्ब ३२ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर १७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । सञ्चालनतर्फ पनि बैंकले सशक्त प्रदर्शन गरेको छ । सञ्चालन मुनाफा २५.२२ प्रतिशतले वृद्धि हुँदै ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको लाभांश वितरण क्षमता पनि सुदृढ बनेको छ । नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सञ्चित नाफासहित कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यसका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा रहेको छ ।
वित्तीय अवस्थातर्फ बैंकको कुल सम्पत्ति १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ कायम भएको छ भने सञ्चित नाफा र अन्य जगेडा कोषसहित कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको व्यवसाय विस्तार पनि सकारात्मक देखिएको छ । ग्राहक निक्षेप १२.९५ प्रतिशतले वृद्धि हुँदै ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्