मौलिक खेल प्रवद्र्धनको अभियानः रिसन र जेन्जीले जिते उपाधि

काठमाडौं, १६ असार । नेपाल अल स्पोट्र्स हबको आयोजनामा भइरहेको प्रथम मौलिक तथा परम्परागत खेल प्रतियोगिताअन्तर्गत चेस (बुद्धिचाल) र टग अफ वार (डोरी तान्ने) प्रतियोगिताको उपाधि विजेता टुंगो लागेको छ । काठमाडौं महानगरपालिका–७, सिफलमा आयोजित प्रतियोगितामा चेसतर्फ रिसन थापाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन् भने टग अफ वारमा जेन्जी समूह च्याम्पियन बनेको छ ।

सात चरणसम्म सञ्चालन गरिएको चेस प्रतियोगितामा रिसन थापाले ६.५ अंक जोड्दै पहिलो स्थान हासिल गरे । प्रतियोगिताभर स्थिर र प्रभावशाली प्रदर्शन गरेका उनले शीर्ष स्थान सुरक्षित गर्दै नगद १० हजार रुपैयाँसहित उपाधि हात पारे । आशिष फुयाँल दोस्रो हुँदै ७ हजार रुपैयाँ तथा सुमन मोक्तान तेस्रो स्थानमा रहँदै ६ हजार रुपैयाँ पुरस्कारका हकदार बने ।

आयोजकका अनुसार चेस प्रतियोगितामा शीर्ष तीन स्थानमा सीमित नरही उत्कृष्ट १० खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ । चौथो स्थान हासिल गर्ने खेलाडीले ५ हजार रुपैयाँ, पाँचौँले ४ हजार, छैटौँले ३ हजार, सातौँले २ हजार तथा आठौँदेखि दशौँ स्थानसम्म रहने खेलाडीले जनही १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको थियो । यसले युवा खेलाडीलाई प्रोत्साहन गर्ने विश्वास आयोजकको छ ।

यस्तै, प्रतियोगिताअन्तर्गत सम्पन्न टग अफ वारमा जेन्जी समूहले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै उपाधि जित्यो । फाइनलमा प्रभावशाली खेल प्रस्तुत गरेको जेन्जी समूहले नगद १० हजार रुपैयाँसहित ट्रफी जित्दा सगरमाथा समूह दोस्रो हुँदै ७ हजार रुपैयाँ र माउन्ट एभरेस्ट समूह तेस्रो स्थानमा रहँदै ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।

आयोजक नेपाल अल स्पोट्र्स हबका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य नेपाली मौलिक तथा परम्परागत खेलहरूको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा यस्ता खेलप्रति आकर्षण बढाउनु हो । आधुनिक खेलसँगै नेपाली समाजमा लामो समयदेखि खेलिँदै आएका रैथाने खेललाई पुनर्जीवित गर्न प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

खेल महोत्सवमा कुल छ वटा मौलिक तथा परम्परागत खेल समावेश गरिएको थियो । चेस र टग अफ वार, डन्डिबियो, बाघचाल, घैँटो फुटाउने र छेलो हान्ने (सटपुट) प्रतियोगिता सञ्चालन गरिएको थियो । यी खेलहरू नेपाली संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएका खेल भएकाले प्रतियोगिताले तिनको संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन वरिष्ठ पत्रकार ऋषि धमलाले गर्नुभएको थियो । कार्यक्रममा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

त्यसैगरी नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी, भेट्रान चेस खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ, अन्तर्राष्ट्रिय चेस आर्बिटर ज्ञानेन्द्र खाइजु, नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष ताराबहादुर रानाभाट, उपाध्यक्ष सानुराज बज्राचार्य, कोषाध्यक्ष वीरबहादुर रावल तथा पूर्व राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईंसहित खेल क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो । उद्घाटन समारोह आयोजक समितिका संयोजक दीपेन राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
आयोजकले यस्ता प्रतियोगितालाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै देशका विभिन्न जिल्लासम्म विस्तार गर्ने योजना रहेको जनाएको छ । परम्परागत खेलको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो मौलिक खेल संस्कृतिसँग जोड्ने अभियानका रूपमा यस प्रतियोगितालाई निरन्तरता दिइने आयोजकको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्