वैदेशिक रोजगारीबाट फर्केका नेपालीको घाँस र कफीखेती

जनार्दन घिमिरे
गुल्मी, ११ असार /रासस ।  वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका कैयौँ युवाको सपना गाउँ छोडेसँगै विदेशमै सीमित हुने गरेको छ ।
तरगुल्मीको इस्मा गाउँपालिका–३ कायुवागोकर्ण नेपाली भने विदेशभन्दा स्वदेशको माटोमा ठूलो सम्भावना देख्दै आउनुभएको छ । सात वर्षअघि दुबईको रोजगारी छाडेर गाउँ फर्किनुभएका नेपाली यति बेलाघाँस खेतीसँगसँगै व्यावसायिक कफीखेती गर्न सुरु गर्नुभएको छ ।
मेहिनत गर्ने हो भने खाडी मुलुकभन्दा नेपालका झाडीमै समेत राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिँदै आउनुभएका नेपाली पछिल्लो समय घाँस खेतीसँगै उहाँले कफीको नर्सरी स्थापना गरी बिरुवा उत्पादन गर्न सुरु गर्नुभयो । घाँस उत्पादनबाट राम्रो आम्दानी भए पनि कफीखेतीबाट आफूलाई थप परिचित गराउने विश्वासका साथ उहाँले कफी नर्सरीलाई मुख्य व्यवसायका रूपमा विस्तार गर्न थाल्नुभएको हो । नेपालीले यसपटक असार पहिलो सातासम्म नर्सरीबाट ६५ हजार कफीका बिरुवा बिक्री गरिसक्नुभएको छ । ती बिरुवा बिक्रीबाट रु २२ लाखभन्दा बढीको कारोबार भइसकेको छ । उहाँले उत्पादन भएका कफीका बिरुवा पहिलो पटक जिल्ला बाहिर पठाउनुभएको छ
उहाँले भन्नुभयो, “यसवर्ष चार ट्रक बिरुवा बाहिर पठाइसके । आगामी वर्ष २५ ट्रकभन्दा बढी बिरुवाबाहिर पठाउने लक्ष्य लिएको छु ।” अहिले नर्सरीमा थप १५ हजार कफीका बिरुवा अझै तयारी अवस्थामा छन् ।
यसका अतिरिक्त घाँस, सुन्तला, कागती र टिमुरलगायतका गरी करिब एक लाख बिरुवा नर्सरीमा छन् । ती कफीका बिरुवा लमजुङ, सुर्खेत, कास्की, नुवाकोट, बाग्लुङ, पाल्पालगायत जिल्लामा पुगेका छन् । कृषि ज्ञान केन्द्र, सहकारी संस्था, कृषक समूह तथा व्यक्तिगत किसान उहाँको फर्ममै पुगेर बिरुवा लैजाने गरेको पाइएको छ ।
नेपालीले करिब १० रोपनी क्षेत्रफलमा कफी नर्सरी विस्तार गर्नुभएको छ । उहाँले आगामी वर्ष दुई लाख ५० हजारसम्म कफीका बिरुवा उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । उहाँले हाल अरेबिका र कटौरा जातका कफीका बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।
कफीसँगै उहाँले १२० रोपनी क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएको छ । तीमध्ये ४० रोपनी जग्गा भाडामा लिनुभएको छ । उहाँको जग्गामा यति बेला इपिल–इपिल, राइखन्यु, नेपियरलगायत ९५ प्रजातिका घाँस व्यावसायिक रूपमा ४० प्रजातिका घाँसका बिरुवा बिक्री गर्दै आउनुभएको छ ।
नेपालीले ‘ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरी विसं २०७६ देखि सुरुमा ८० हजार लगानीबाट सुरु गरेको घाँस खेतीको हालसम्म भौतिक संरचना निर्माण मात्र ६० लाख लगानी भइसकेको बतासएको छ ।
कफीखेती गर्ने कृषक घट्दै गएको अवस्थामा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आफू व्यावसायिक कफीखेतीमा लागेको उहाँले बताउनुभयो । नेपालमा कफीको माग बढ्दै गएको अवस्थामाआफुले पनि समय त्यसकोआवश्यकता महसुस गरेर कफी नर्सरी विस्तार गरेको उहाँको भनाइ छ । फर्म सञ्चालनका लागि उहाँले लुम्बिनी प्रदेश सरकार, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, इस्मा गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र डिभिजन वन कार्यालयलगायत विभिन्न निकायबाट सहयोग प्राप्त गर्दै आउनुभएको छ । उहाँको फर्ममा  आवश्यकता बमोजिम २० जनासम्मले रोजगारी पाउँदै आएका छन् ।
व्यवसाय विस्तारका क्रमम उहाँले विशेष गरी सडक र सिँचाइको अभाव मुख्य समस्याका रूपमा रहेको बताउनुभयो । “उत्पादन गरिएका बिरुवा ट्रकमा लोड गर्न टाढासम्म लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रमा लगानी र पूर्वाधार अभावका कारण धेरै मेहिनती किसानले चाहेर पनि व्यवसाय विस्तार गर्न नसकेको उहाँको भनाइ छ ।
विदेशबाट फर्किएर स्वदेशकै माटोमा पसिना बगाउँदै सफलता हासिल गर्दै आउनुभएका नेपालीले मेहिनत र लगनशीलता भए स्वदेशमै कृषि व्यवसायमार्फत राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्