काठमाडौं, २५ बैशाख । जुम्लामा आयोजना हुने सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । कर्णाली स्पोर्ट क्लब जुम्लाले आयोजना गर्ने प्रतियोगिता यही वैशाख २६ गते सञ्चालन हुँदैछ ।
आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको व्यवस्थापन, सुरक्षा, मार्ग तयारी तथा सहभागी दर्तालगायत सबै पक्ष अन्तिम चरणमा पुगेको जनाएको हो।क्लबका अध्यक्ष सरोज शाहीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य जुम्लादेखि मुगुको रारातालसम्म फैलिएको पदमार्गको पर्यटन प्रवद्र्धन गर्नुका साथै कर्णाली प्रदेशलाई खेल पर्यटनको केन्द्रका रूपमा परिचित गराउनु हो ।
उहाँले खेलकुदमार्फत कर्णालीको प्राकृतिक सौन्दर्य, संस्कृति र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्य राखिएको बताउनुभयो।
यस वर्षको प्रतियोगितामा एक हजारभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। विशेषगरी ५४ किलोमिटर दूरीको अल्ट्रा म्याराथनमा हालसम्म १३५ जना धावकले नाम दर्ता गराइसकेका छन्।
यो दौड जुम्लाको खलङ्गा बजारबाट सुरु भएर मुगुको प्रसिद्ध रारातालसम्म पुग्नेछ। कठिन भू–भाग, उच्च हिमाली वातावरण र प्राकृतिक दृश्यका कारण यो दौड साहसिक खेलको रूपमा चिनिने गरेको छ।प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर र १० किलोमिटर दूरीका छुट्टाछुट्टै प्रतिस्पर्धासमेत सञ्चालन हुनेछन् ।
आयोजकका अनुसार पाँच किलोमिटर दौडमा करिब ६५० जना र १० किलोमिटरमा २०० जनाले नाम दर्ता गराएका छन्। अझै केही दिन दर्ता खुला रहने भएकाले सहभागी सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
यसपटकको प्रतियोगितामा नेपालका विभिन्न जिल्लासहित भारत, फ्रान्स, अमेरिका, बेलायत, नेदरल्याण्ड र इटालीका धावकले समेत सहभागिता जनाउने भएका छन्। आयोजकले भारत र फ्रान्सका केही धावक जुम्ला पुगिसकेको जानकारी दिएको छ।
विदेशी धावकको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडेलले जुम्ला–रारा अल्ट्रा म्याराथनले कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो। उहाँका अनुसार प्रतियोगिताले साहसिक खेल पर्यटनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
होटल व्यवसाय, यातायात, स्थानीय उत्पादन र अन्य सेवाक्षेत्रले प्रतियोगिताबाट लाभ लिने विश्वास गरिएको छ ।प्रतियोगिताको ५४ किलोमिटर दौडमा सहभागी हुन स्थानीय धावकका लागि तीन हजार रुपैयाँ र अन्य सहभागीका लागि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
आयोजकले खेलाडीको स्वास्थ्य, सुरक्षा तथा मार्ग व्यवस्थापनमा विशेष ध्यान दिइएको जनाएको छ । दौड मार्गमा स्वास्थ्यकर्मी, स्वयंसेवक र सुरक्षा टोली परिचालन गरिने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्