‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली, २० वैशाखः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेका क्षेत्रलाई प्राथमिकतामा राखी विकास गरिने बताउनुभएको छ ।
आज यहाँ प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित प्रदेश सरकार र स्थानीय तहबीचको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले पर्यटकीय सम्भावना बोकेका क्षेत्रको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गर्नुभयो ।
उहाँले यस्ता क्षेत्रको विकासले प्रदेशको समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले रु २५ लाखभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने तथा प्रदेशका कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने बताउनुभयो ।
प्रदेशको समग्र विकास, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले यस्तो नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति लिएर अघि बढेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
स्थानीय तहले बजेट निर्माणका क्रममा योजना बैङ्कमार्फत योजना छनोट गर्नुपर्ने र योजना छनोट गर्दा सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यसँग समेत समन्वय तथा छलफल गर्नुपर्नेमा जोड मुख्यमन्त्री शाहले जोड दिनुभयो ।
कार्यक्रममा योजना कार्यान्वयनका चुनौती, आयोजना छनोटका मापदण्ड, प्रदेश र स्थानीय तहबीचको समन्वय, सामाजिक क्षेत्रको साझेदारी तथा प्रदेश सरकारले कुन क्षेत्रमा लगानी गर्दा समग्र प्रदेश लाभान्वित हुन सक्छ भन्ने विषयमा जिल्लागत समूह छलफल तथा प्रस्तुतीकरण गरिएको थियो ।
छलफलमा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले आयोजनामा लागत सीमा र प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, साझा अधिकारका विषयमा सहकार्य र समन्वय अनिवार्य गर्नुपर्ने, राजस्व बाँडफाँड र समानीकरण अनुदानको दायरा बढाउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षसहित सदस्य, विभागीय सचिव तथा कर्मचाहरु तथा नौ जिल्लाका पालिकाका प्रतिनिधिसहित प्रशासकीय अधिकृतहरू सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्