एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरु गर्दैछः डा दाहाल

काठमाडौँ, १५ चैतः सूचना प्रविधिको विकाससँगै पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव विश्वव्यापी रूपमा विस्तार भइरहेको छ । एआईको बुहआयामिक प्रयोगबाट वैश्विक रूपान्तरणको युग सुरु भइसकेको जानकारहरू बताउँछन् ।
एआईको विस्तारसँगै यसको उपयोग र प्रभावबारे चासो बढिरहेका बेला सूचना प्रविधि र एआईको क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनमा काम गर्दै आउनुभएका वैज्ञानिक डा परशुराम दाहालले एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरुआत गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को पाक्षिक शृङ्खला ‘रासस संवाद’मा उहाँले एआईलाई मानिसजस्तै सोच्न, सिक्न र निर्णय गर्न सक्ने कम्प्युटर प्रणालीका रूपमा व्याख्या गर्दै यसले स्वास्थ्य, शिक्षा, कृषि र व्यवसायलगायत दैनिक जीवन सहज बनाइरहेको उल्लेख गर्नुभयो ।
दाहालका अनुसार विश्वमा एआईको विकास स्वचालन, डेटा विश्लेषण र निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउने दिशातर्फ उन्मुख छ । दीर्घकालमा यसले उत्पादन बढाउनुका साथै नयाँ अवसर सिर्जना गर्ने डा दाहालको विश्वास छ । “एआईले केही परम्परागत रोजगारी घटाउन सक्छ, तर नयाँ सीप र प्रविधिमा आधारित अवसरहरू पनि उत्तिकै सिर्जना हुन्छन्”, उहाँले भन्नुभयो,“भविष्यमा एआई अत्यन्त उपयोगी हुनसक्ने अवस्था बन्दैछ । उत्पादन, कृषिको आधुनिकीकरण, स्वास्थ्य सेवा सुधार, विपद् व्यवस्थापन, शिक्षालगायतको क्षेत्रमा यसको प्रयोगको सम्भावना धेरै छ ।”
डा दाहालले एआईका लागि डेटा सबैभन्दा आधारभूत स्रोत भएको बताउनुभयो । उहाँले नेपालमा गुणस्तरीय, विश्वसनीय र व्यवस्थित डेटाको अभाव ठूलो चुनौतीका रूपमा रहेको औँल्याउनुभयो । डेटा सङ्कलन, सुरक्षित भण्डारण र प्रभावकारी प्रयोगका लागि आवश्यक नीति, प्रविधि र संस्थागत संरचना विकास नभए एआईको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसक्ने उहाँको भनाइ छ ।
“व्यवस्थित डेटाको उपलब्धता, पूर्वाधारको कमी, दक्ष जनशक्तिको अभाव र स्पष्ट नीतिगत ढाँचाको अभाव एआईको लागि हालको मुख्य चुनौती हो”, डा दाहालले भन्नुभयो ।
सरकारले सूचना प्रविधि र एआईको विकासमा दीर्घकालीन रणनीति, लगानी वृद्धि, अनुसन्धान प्रवर्द्धन तथा डेटा सुरक्षासम्बन्धी स्पष्ट नीति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै, एआईको प्रयोगसँगै व्यक्तिको डेटा गोपनीयता, गलत सूचना र नैतिकताका विषयमा सचेत रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विदेशमा बसेर अध्ययन र अनुसन्धानका क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको वैज्ञानिक दाहालले युवापुस्तालाई लक्षित गर्दै नयाँ सीप सिक्न, जिज्ञासा बढाउन र प्रविधिलाई सकारात्मक रूपमा उपयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्