काठमाडौं, २५ माघ । महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘श्री बुकुरो ः द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा आधारित यस सिनेमाको ट्रेलरले पारिवारिक स्नेह, मिलन, नोकझोंक र भावनात्मक उतार–चढावलाई सशक्त रूपमा प्रस्तुत गरेको छ, जसले दर्शकमाझ उत्सुकता बढाएको छ ।
काव्यात्मक न्यारेसन शैलीमा तयार पारिएको करिब ३ मिनेट ३३ सेकेण्ड लामो ट्रेलरले पात्रहरूको चाहना, अपेक्षा र आन्तरिक द्वन्द्वलाई सूक्ष्म ढंगले उजागर गरेको छ । सिनेमाकी मुख्य पात्र लक्ष्मी गिरीको भूमिकालाई केन्द्रमा राखेर बुन्निएको कथामा एउटा सानो ‘बुकुरो’ अर्थात् आफ्नै घर बनाउने सपना, छोराहरूको विवाह, पारिवारिक खुसी र त्यससँग जोडिएका संवेदनशील पक्षहरू चित्रण गरिएको छ । ट्रेलरले पात्रको मनोदशासँगै दर्शकलाई भावनात्मक यात्रामा लैजान्छ र कथावस्तुबारे संक्षिप्त तर प्रभावकारी संकेत दिन्छ ।
निर्देशक सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा करिब ९ वर्षपछि उनको निर्देशनमा आएको हो । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता सिनेमाको निर्देशन गरेका थिए ।
पछिल्लो समय सामाजिक–पारिवारिक कथावस्तुमा आधारित सिनेमाले दर्शकको मन जितिरहेको सन्दर्भमा ‘श्री बुकुरो’ पनि त्यही धारलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । निर्देशक सिंहले विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक कथाले सबै उमेर समूहका दर्शकलाई जोड्ने विश्वास व्यक्त गरेका छन् ।
यसअघि सार्वजनिक टिजर र पोस्टरले नै सकारात्मक प्रतिक्रिया पाइसकेको यो सिनेमाको ट्रेलरले त्यस उत्साहलाई थप उचाइमा पु¥याएको निर्माण टिमको दाबी छ । सिनेमाले ग्रामीण जीवनको यथार्थ, पारिवारिक सम्बन्धको गहिराइ र पुस्तान्तरणका भावनात्मक पक्षलाई सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गर्ने संकेत ट्रेलरबाट देखिन्छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायतको अभिनय रहेको छ । सिनेमाको निर्माण रुबी सेन सिंहले गरेकी हुन् ।
प्राविधिक पक्षमा पनि सिनेमा सबल देखिएको छ । सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ । सिनेमाको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो ।
गीत–संगीततर्फ रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर समावेश गरिएको छ । समग्रमा, ‘श्री बुकुरो ः द होम कलिङ’ले नेपाली पारिवारिक सिनेमाको परम्परालाई भावनात्मक गहिराइका साथ निरन्तरता दिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्