सातौँ झापा गोल्डकप माघ २४ गतेदेखि हुने

कठमाडौं, २० माघ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुन लागेको ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप’ (विनोद बस्नेत स्मृति संस्करण) को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकप समितिले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको विस्तृत तालिका सार्वजनिक गरेको हो ।

माघ २४ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन् । गोल्डकपका अध्यक्ष केदार गिरीका अनुसार उद्घाटन खेललाई आकर्षक बनाउन आयोजक टोलीलाई नै प्रतिस्पर्धामा उतारिएको हो। उनले यस संस्करणको गोल्डकप अघिल्ला संस्करणभन्दा थप व्यवस्थित र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरे ।

यसपटकको झापा गोल्डकपमा स्वदेशी र विदेशी गरी कुल १० टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको दोस्रो दिन माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच दोस्रो खेल हुनेछ ।

खेल तालिकाअनुसार माघ २६ गते हुने पहिलो क्वाटरफाइनलमा उद्घाटन खेलको विजेता टोलीले भारतको सिक्किमबाट सहभागी सिग्लिङ स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यसैगरी माघ २७ गते दोस्रो क्वाटरफाइनल खेलमा दोस्रो दिनको विजेता टोली र पोखराको लालीगुराँस एसोसिएसनबीच प्रतिस्पर्धा हुने तय गरिएको छ ।

माघ २८ गते तेस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लब र भूटानको रोयल थिम्पु कलेजबीच हुनेछ । अन्तिम क्वाटरफाइनल खेल माघ २९ गते आयोजना गरिनेछ, जसमा नेपालकै चर्चित क्लब मच्छिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

क्वाटरफाइनलपछि प्रतियोगिताको सेमिफाइनल खेल फागुन १ र २ गते सञ्चालन हुनेछ भने बहुप्रतीक्षित फाइनल खेल फागुन ४ गते आयोजना हुने तालिका तय गरिएको छ ।

पुरस्कार राशिको कुरा गर्दा, प्रतियोगिताको विजेता टोलीले नगद १५ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ । उपविजेता टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने गोल्डकपका कोषाध्यक्ष चन्द्रमणि कट्टेलले जानकारी दिए । व्यक्तिगत पुरस्कारतर्फ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

साथै उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता प्रत्येकले नगद ३५ हजार रुपैयाँ पाउनेछन । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ ।

यस संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ रहेको छ । आयोजकले दर्शकको उल्लेख्य सहभागिता र प्रतिस्पर्धात्मक खेलमार्फत झापा गोल्डकपलाई देशकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्