डा. भोला रिजालको राष्ट्रिय भावको गीत ‘अन्धकार पन्छाएर’

काठमाडौं, १८ माघ । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धाकार पन्छाएर’ श्रोता÷दर्शकमाझ आएको छ । शिव परियारको स्वर, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठ लगायतको अभिनय छ ।
सरला रिजालको प्रस्तुति रहेको भिडियोलाई महेश महाराले छायांकन गर्नुभएको हो भने सम्पादन वीरेन्द्रकै रहेको छ ।

देशको बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनि भएको गीत निकै शसक्त जागरण गीत रहेको छ । वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको गीतको भिडियो बिआर प्रोडक्सनमार्फत श्रोता÷दर्शकमाझ आएके हो ।

हामीहरू फुटेर होइन जुटेर अघि बढौ भन्ने धारणाले यो राष्ट्रभावको गीत श्रोता÷दर्शकमाझ ल्याएको डा. रिजाल बताउनुहुन्छ । गीतले देश विकासमा जुटन् र परिवर्तनका पक्षमा लाग्न सन्देश प्रवाह गरेको छ । जाग युवा जाग देश निर्माणमा लाग भन्ने गीतले आह्वान गरेको छ ।

डा.भोला रिजाल शब्द, संगीत र स्वरका त्रिवेणी प्रतिभा हुनुहुन्छ । उहाँले रचना गरेको पहिलो रेकर्डेड (२०२० साल) गीत ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उहाँको स्वरको पहिलो रेकर्डेड गीत हो । डा. रिजालकै रचना, संगीत र स्वरमा रेकर्ड भएको यो गीत उहाँको सांगीतिक इतिहासको दस्तावेज नै बनेको छ ।

डा. रिजाल वि.सं. २००४ साल कात्तिक १४ गते धरानको पुरानो बजारमा जननीप्रसाद रिजाल र पूर्णमाया रिजालको साहिँलो सन्तानको रूपमा जन्मिनुभएको हो । उहाँ सानैदेखि हरेक क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्थ्यो । साहित्यसँगै सामाजिक कार्य र खेलकुद गतिविधिमा समेत उहाँको विशेष रुचि थियो ।

एसएलसीको तयारी गर्दैगर्दा १५ वर्षका डा.भोला रिजालको विवाह १२ वर्षीय सरला घिमिरेसँग भएको थियो । कला र साहित्यको वंशाणुगत गुण लिएर आउनुभएका डा. भोला रिजालका हजुरबुबा ध्रुवलाल र बुबा जननीप्रसाद रिजालमा पनि अब्बल साहित्यिक शिल्प थियो ।

नौ कक्षासम्म धरान पब्लिक स्कुलमा अध्ययन गर्नुभएका डा. रिजालले एसएलसीसम्मको पढाइ विराटनगरबाट पूरा गर्नुभएको थियो । हिमकला मन्दिरबाट ‘कानुनकी आखेमे’ जस्ता नाटक देखाउन उहाँको समूह भारतको वीरपुर, जोगवनी, फार्विसगञ्जसम्म पुग्ने गथ्र्यो । एसएलसीपछि आईएस्सी पढ्न वनारस जानुभएका रिजालले त्यहाँ पुगेर पनि कलाकारितालाई निरन्तरता दिनुभएको थियो ।

अहिलेसम्म ३५ सयभन्दा बढी गीत लेखिसक्नुभएका रिजालका स्वरमा ३०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । गीति लेखनका हिसाबले करीब ६ दशक पुगिसकेको छ ।

पेसाले चिकित्सक भए पनि साहित्य सिर्जनामा सदैब दत्तचित्त भएर लागिरहनुभएका कलाकार÷सर्जक रिजालका ‘मेरो पौवा पाटी, ईश्वर आफैँ बोल्छ, मेरी सान्नानी, शुभकामना, सगरमाथा रोइरहेछ, सारंगीको तार टुट्यो, यात्रा, पपकर्न’ लगायतका १३ वटा गीति एल्बम प्रकाशन भइसकेका छन् ।

त्यस्तै उहाँले ठूलो पर्दाका ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ जस्ता आठ वटा चलचित्र निर्माणका साथै ती चलचित्रमा कथा लेखन र गीत लेखन समेत गर्नुभएको छ । यीमध्ये ‘गौँथली’ गीति चलचित्र हो । जसमा महिला हक अधिकार र छोरीलाई शिक्षा दिनुपर्छ भन्ने सन्देश रहेको छ ।

डा. रिजालका ‘मलाई पनि अंग्र्रेजीमा बोल्न सिकाइदेऊ न, निधारमा रातो माटो शीरमा टोपी राखें, भागेर भए पनि आऊ’ जस्ता दर्जनौं हिट गीत रहेका छन् । डा. रिजाल यतिबेला पनि गीत लेखन र जीवनी लेख्ने क्रममा नै रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्