सिनेमा ‘बिगुल’ फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने

काठमाडौं, ८ माघ । नेपाली सिनेमा ‘बिगुल’ अब फागुन १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको छ । विभिन्न कारणले तय गरिएको मितिमा रिलिज हुन नसकेको यो सिनेमा नयाँ मितिसहित दर्शकमाझ ल्याउने तयारी निर्माण टिमले गरेको हो ।

रमेश कोइरालाको निर्देशनमा बनेको यस सिनेमाको नयाँ प्रदर्शन मितिबारे कथाकार तथा निर्माता दिनेश कोइरालाले औपचारिक रूपमा जानकारी दिएका हुन् । उनका अनुसार दर्शकको चासो, प्रतिक्षा र सिनेमाको उचित प्रदर्शन व्यवस्थालाई ध्यानमा राख्दै फागुन १ गते देशव्यापी रिलिज गर्ने निर्णय गरिएको हो । उनले ‘बिगुल’ समसामयिक विषयवस्तुमा आधारित भएकाले दर्शकले मन पराउने विश्वाससमेत व्यक्त गरेका छन् ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको ‘बिगुल’ मा नेपाली फिल्म क्षेत्रका अनुभवी तथा चर्चित कलाकारहरूको अभिनय देख्न सकिन्छ । सिनेमामा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर वाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी र रविन्द्र खड्का लगायत कलाकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यसै सिनेमाबाट अभिनेत्री मीरा पण्डितले नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छन्, जसका कारण पनि सिनेमाप्रति दर्शकको उत्सुकता थप बढेको छ ।

‘बिगुल’ ले देशको वर्तमान राजनीतिक अवस्था, आम नेपाली नागरिकको भावना, आशा–निराशा र समाजमा देखिएका यथार्थ परिस्थितिलाई कथावस्तुको रूपमा प्रस्तुत गरेको छ । समसामयिक र संवेदनशील विषय उठान गरिएको यस सिनेमाले दर्शकलाई मनोरञ्जनसँगै सोच्न पनि बाध्य बनाउने अपेक्षा गरिएको छ ।

यसअघि सार्वजनिक गरिएका सिनेमाका गीत, टिजर र ट्रेलर ले सामाजिक सञ्जाल तथा दर्शकमाझ राम्रो चर्चा पाइसकेका छन् । ती सामग्रीबाटै सिनेमाले उठाउन खोजेको विषयवस्तु र प्रस्तुति शैली झल्किने भएकाले दर्शकको प्रतिक्षा अझ बढेको देखिन्छ ।

‘बिगुल’ को वितरणको जिम्मेवारी काफिया फिल्म्स र श्री ब्र्याकेट्स इन्टरटेन्मेन्टले लिएका छन् । निर्माण पक्षका अनुसार सिनेमा प्राविधिक रूपमा पनि सबल छ । सिनेमाको छायांकन शिव ढकालले गरेका हुन् भने द्वन्द निर्देशन एनबी महर्जनको रहेको छ । सिनेमाको सम्पादन ८८तारा थापा ‘किम्भे’८८ले गरेका छन् ।

सिनेमाका गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ भने पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । समसामयिक विषय, अनुभवी कलाकार र मजबुत प्राविधिक पक्षका कारण ‘बिगुल’ ले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्