काठमाडौँ, ८ माघ । युरोपेली च्याम्पियन्स लिगको पछिल्लो चरणका खेलहरूले प्रतिस्पर्धाको तीव्रता र अप्रत्याशित नतिजा दुवैलाई उजागर गरेका छन् । एकातिर रियल मड्रिडले मोनाकोमाथि प्रभावशाली प्रदर्शन गर्दै ठूलो जित दर्ता ग¥यो भने अर्कोतर्फ आर्सनलले कठिन अवे मैदानमा जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित ग¥यो । उता, साविक विजेतामध्ये एक मानिएको म्यानचेस्टर सिटी भने नर्वेको बोडो÷ग्लिम्टसँग पराजित हुँदै दबाबमा परेको छ ।
रियल मड्रिडले घरेलु मैदानमा मोनाकोमाथि ६–१ को शानदार जित निकाल्दै आफ्नो दावेदारी थप मजबुत बनाएको छ । प्रशिक्षक आल्भारो आर्बेलोआको प्रशिक्षणमा च्याम्पियन्स लिगमा पहिलो खेल खेलेका किलियन एमबाप्पेले दुई गोल गर्दै खेलको केन्द्रमा रहे । भिनिसियस जुनियरले एक गोल र एक महत्वपूर्ण पाससहित आक्रमणलाई निरन्तर धारिलो बनाइरहे ।
खेल सुरु भएको पाँचौँ मिनेटमै एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाउँदा मोनाको सुरुदेखि नै दबाबमा पर्यो । २६ औँ मिनेटमा भिनिसियसको सटिक पासमा एमबाप्पेले दोस्रो गोल थपेपछि पहिलो हाफमै खेलको लय रियलतर्फ मोडिएको थियो । यद्यपि मोनाकोले पहिलो हाफमा केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
दोस्रो हाफमा रियल झनै हाबी देखियो । ५१ औँ मिनेटमा युवा खेलाडी फ्रान्को मास्तान्तुओनोले च्याम्पियन्स लिग करियरको पहिलो गोल गर्दै फरक क्षमता देखाए । त्यसको चार मिनेटपछि मोनाकोका थिलो केहरको आत्मघाती गोलले पाहुना टोलीको समस्या बढायो।
६३ औँ मिनेटमा भिनिसियसले आकर्षक गोल गरे भने ८० औँ मिनेटमा जुड बेलिङ्घमले गोल थप्दै रियलको फराकिलो जित सुनिश्चित गरे । मोनाकोका लागि जोर्डन तेजेले ७२ औँ मिनेटमा गोल फर्काए पनि त्यो सान्त्वनामा सीमित रह्यो । यो जितसँगै रियल मड्रिड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
इटालीको सान सिरो मैदानमा आर्सनलले इन्टर मिलानलाई ३–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । अवे मैदानमा पनि आक्रामक र सन्तुलित खेल प्रस्तुत गर्नु आर्सनलको विशेषता रह्यो ।
खेलको १० औँ मिनेटमा गाब्रिएल जेसुसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । इन्टरले पेतार सुचिचको गोलमार्फत १८ औँ मिनेटमा बराबरी गरे पनि आर्सनल दबाबमा आएन । ३१ औँ मिनेटमा बुकायो साकाको कर्नरबाट आएको बलको रिबाउन्डमा जेसुसले दोस्रो गोल गर्दै टोलीलाई फेरि अघि बढाए ।
दोस्रो हाफमा पनि आर्सनलले खेल नियन्त्रणमा राख्यो । अन्त्यतिर जेसुसको स्थानमा मैदान छिरेका भिक्टर ग्योकरसले ८४ औँ मिनेटमा गाब्रिएल मार्टिनेलीको पासमा गोल गर्दै जित पक्का गरे । यो नतिजासँगै आर्सनल लिग चरणको शीर्ष दुईभित्र रहने सुनिश्चित भएको छ, जसले टोलीको आत्मविश्वास थप उकासेको छ ।
च्याम्पियन्स लिगको अर्को खेलमा नर्वेको बोडो÷ग्लिम्टले म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै सबैलाई चकित पारेको छ । घरेलु मैदानमा बोडोले सुरुदेखि नै आक्रामक खेल देखायो ।
२२ औँ मिनेटमा कास्पर होगले ओले डिड्रिक ब्लोमबर्गको क्रसमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । त्यसको दुई मिनेटमै उनले दोस्रो गोल थपेपछि सिटी पूर्ण रूपमा दबाबमा आयो । ५८ औँ मिनेटमा जेन्स पेटर हाउगेले टाढाबाट गरेको उत्कृष्ट गोलले बोडोको अग्रता ३–० पु¥यायो ।
६० औँ मिनेटमा रायन चेर्कीले सिटीका लागि गोल फर्काए पनि खेलको दिशा बदल्न सकेनन्।त्यसमाथि ६१ औँ मिनेटमा रोड्रीले दुई पहेँलो कार्ड पाउँदै रातो कार्डसहित मैदान छाडेपछि १० खेलाडीमा सीमित सिटी पुनरागमन गर्न असफल रह्यो । खेलभरि बोडो आक्रामक र संगठित देखियो।
यो जितसँगै बोडो÷ग्लिम्टले प्ले–अफमा पुग्ने आशा जोगाएको छ भने सिटीको शीर्ष आठमा रहने लक्ष्यमा गम्भीर धक्का लागेको छ ।
यी नतिजाहरूले च्याम्पियन्स लिगमा नाम मात्र होइन, वर्तमान प्रदर्शन नै निर्णायक हुने संकेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्