काठमाडौँ, १ माघ । पछिल्लो समय विभिन्न वाम घटकहरूबीच सहकार्य र एकताको चर्चा भइरहेका बेला राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्षसुमन सायमि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ । बुधबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी समायोजन तथा एकता कार्यक्रममा सायमि आफ्ना समर्थक नेताहरूको समूहसहित नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनुभएको हो ।
कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–८ बाट सुमन सायमिलाई उम्मेदवार बनाउने घोषणा गर्नुभएको छ । घोषणा गरेसँगै राजधानीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।
राष्ट्रिय सभा गृहमा आयोजित पार्टी समायोजन तथा एकता कार्यक्रममा बोल्दै प्रचण्डले सायमिलाई औपचारिक रूपमा उम्मेदवार घोषणा गर्दै कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न आह्वान गर्नुभयो ।
“अब काठमाडौं–८ बाट सुमन सायमिलाई जिताउन तयार रहनुहोला,” प्रचण्डको यो भनाइले पार्टीभित्र मात्र होइन, समग्र वाम राजनीतिमा समेत स्पष्ट सन्देश दिएको छ । राजधानीको केन्द्रीय निर्वाचन क्षेत्रमा अनुभवी र नयाँ भनिएका पात्रबीचको प्रतिस्पर्धा तीव्र हुँदै गएको सन्दर्भमा यो घोषणा अर्थपूर्ण रूपमा हेरिएको छ ।
पार्टी समायोजन कार्यक्रममै उम्मेदवारी घोषणा हुनुले सायमिलाई पार्टी नेतृत्वले रणनीतिक रूपमा अघि सारेको स्पष्ट संकेत दिन्छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–८ बाट उम्मेदवारी दिने तयारीमा रहेका सायमि अघिल्ला निर्वाचनबाटै परिचित अनुहार हुनुहुन्छ ।
गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको उहाँले १३ हजार ७७० मत प्राप्त गर्नुभएको थियो । यद्यपि उहाँ निर्वाचित हुन सक्नुभएन । तर त्यो मत परिणामले काठमाडौंका मतदाताबीच उहाँको परिचय र प्रभाव स्थापित गरेको विश्लेषण गरिन्छ ।
प्रचण्डको घोषणालाई केवल उम्मेदवार छनोटको निर्णय मात्र नभई वाम एकताको निरन्तर प्रयासको सन्दर्भमा पनि हेरिएको छ । पछिल्लो समय विभिन्न वाम घटकहरूबीच सहकार्य र एकताको चर्चा भइरहेका बेला सायमिको प्रवेश र उम्मेदवारी घोषणा पार्टीको चुनावी रणनीतिसँग जोडिएको देखिन्छ ।
राजधानीजस्तो राजनीतिक रूपमा संवेदनशील क्षेत्रबाट वैचारिक रूपमा स्पष्ट र संगठनात्मक आधार भएको उम्मेदवार अघि सारेर पार्टीले सन्देश दिन खोजेको विश्लेषकहरूको बुझाइ छ ।
काठमाडौं–८ मा विभिन्न दल र स्वतन्त्र उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिँदै आएको छ । यस्तो अवस्थामा पार्टीभित्र नयाँ रूपमा प्रवेश गरेका तर पहिल्यै मतदातामाझ परिचित सायमिलाई उम्मेदवार बनाउनु जोखिम र सम्भावनाको सन्तुलन खोज्ने प्रयासका रूपमा लिइएको छ ।
पार्टी एकता कार्यक्रममै सायमिले दिएको अभिव्यक्तिले उहाँको राजनीतिक सोच र आगामी अभियानको पनि संकेत गरेको छ । उहाँले आफूलाई ‘नयाँ’ भनिने प्रवृत्तिप्रति सावधानी अपनाउन आग्रह गर्दै इतिहासले बारम्बार चेतावनी दिएको बताउनुभयो ।
“क्षणिक स्टन्टबाजीमा नझुक्किनुहोला। नयाँ भन्दैमा पुराना भन्दा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन,” सायमिले भन्नुभयो “इतिहासले हामीलाई बारम्बार चेतावनी दिएको छ । नयाँहरू पुराना भन्दा झनै धेरै खतरनाक हुन सक्छन्।”
उहाँको यो भनाइ पछिल्लो समय राजनीतिमा देखिएको ‘नयाँ अनुहार’ र ‘स्टन्ट’ केन्द्रित बहसप्रति लक्षित देखिन्छ । उहाँले भिड र भावनाले होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । “आकर्षक नाराले मात्र मुक्ति दिँदैन,” उहाँको भनाइ थियो ।
सायमिले नेपाली कम्युनिस्ट पार्टीलाई जनताको मुक्ति सम्भव गराउने प्रमुख शक्ति ठान्दै त्यसका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पार्टी प्रवेशलाई केवल संगठनात्मक निर्णय नभई वैचारिक यात्राको निरन्तरता भएको दाबी गर्नुभयो ।
जनताको दीर्घकालीन हित, सामाजिक न्याय र संरचनात्मक परिवर्तनका लागि कम्युनिस्ट आन्दोलन अपरिहार्य रहेको उहाँको तर्क थियो । यसले सायमि केवल उम्मेदवारका रूपमा नभई वैचारिक प्रवक्ता जस्तै भूमिकामा देखिन खोजेको संकेत दिन्छ । राजधानीका शिक्षित, सचेत र आलोचनात्मक मतदातामाझ यस्तो सन्देश कति प्रभावकारी हुन्छ भन्ने प्रश्न भने चुनावी अभियानसँगै प्रस्ट हुँदै जानेछ ।
काठमाडौं–८ ऐतिहासिक रूपमा प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्र मानिन्छ। यहाँ राष्ट्रिय दल, वैकल्पिक शक्तिहरू र स्वतन्त्र उम्मेदवारबीच कडा टक्कर हुने गरेको छ । पछिल्ला वर्षहरूमा ‘पुराना दल’ र ‘नयाँ शक्ति’ बीचको बहस यहाँ झनै तीव्र बनेको छ । यस्तो परिवेशमा सायमिको उम्मेदवारीले वाम मतलाई एकीकृत गर्ने प्रयास कत्तिको सफल हुन्छ, त्यो पार्टीको संगठनात्मक क्षमता र चुनावी अभियानमा निर्भर रहनेछ ।
विश्लेषकहरूका अनुसार सायमिको अघिल्लो मत परिणाम, वैचारिक स्पष्टता र पार्टी नेतृत्वको समर्थन उनको बलियो पक्ष हुन् । तर राजधानीमा मतदाताको अपेक्षा उच्च हुनु र विकल्पहरूको संख्या धेरै हुनु चुनौतीका रूपमा रहने देखिन्छ ।
प्रचण्डद्वारा सायमिलाई काठमाडौं–८ बाट उम्मेदवार घोषणा गर्नुले आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा वाम राजनीतिमा नयाँ गति थपेको छ । यसले वाम एकता, नयाँ बनाम पुराना बहस र राजधानीको राजनीतिक समीकरणलाई एकैसाथ जोडेको छ ।
अबको प्रश्न सायमिले आफ्ना वैचारिक सन्देशलाई व्यवहारिक चुनावी एजेन्डामा कसरी रूपान्तरण गर्छन् र पार्टीले त्यसलाई कति प्रभावकारी रूपमा मतदातासम्म पु¥याउन सक्छ भन्ने हो । आगामी दिनमा चुनावी अभियानसँगै यी सबै प्रश्नहरूको उत्तर क्रमशः खुल्दै जानेछन् ।
प्रतिक्रिया दिनुहोस्