एमाले उपत्यका विशेष प्रदेशको अधिवेशन काठमाडौँमा हुँदै

काठमाडौँ, १८ असोज । नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।

अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने र अधिवेशनको तयारी पूरा भएको उक्त कमिटीका अध्यक्ष प्रेम पराजुलीले जानकारी दिए । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क)बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ । कुल तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् । अध्यक्ष पराजुलीले यस क्षेत्रले आफ्नो मर्यादा, अनुशासन र सीमालाई ध्याल गरेर व्यवस्थितरुपमा अधिवेशन सम्पन्न गर्ने बताए ।

यसैगरी, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । प्रदेश किमिटी अध्यक्षमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारी चुनावी मैदानमा छन । शर्मा प्रदेश एमाले गण्डकीका हालका अध्यक्षसमेत हुन ।

यस्तै उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ र नवलपुरका बाबुराम विक, सचिवमा लमजुङका धनञ्जय दवाडी र कास्कीका रश्मी आचार्य तथा उपसचिवमा पर्वतका मञ्जु अधिकारी, कास्कीका दामबहादुर विक, म्याग्दीका सन्तोष रावल र कास्कीका मीना गुरुङले उम्मेदवारी दिएका छन । प्रदेश कमिटी सदस्यमा २७ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ६२ सदस्यीय नयाँ कमिटी चयन हुनेछ । अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट नौ सय सात प्रतिनिधिले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्