टक्सार (भोजपुर), २९ पुसः भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ ।
भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको समेत व्यवस्था गर्नुभएको छ । निर्माणकर्ता प्रधानले दुवै संरचना विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई हस्तान्तरण गर्नुभयो ।
स्वच्छ खानेपानी विद्यार्थीको अधिकार भएकाले आफूले धारा निर्माण गरिदिएको प्रधानले बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की तथा निर्माणकर्ता उजिरबहादुरले धाराको उद्घाटन गर्नुभयो । सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा विनोद पराजुलीले सहयोग गर्नुभएको रु २० हजार रकमबाट विद्यालयका विद्यार्थीलाई नेपाली टोपी वितरण गरिएको प्रअ राईले बताउनुभयो । कार्यक्रममा विद्योदय माविका प्रअ खोमराज धमलाको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्