काठमाडौँ, १८ पुस । नवौं एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लब, साविक विजेता टिप–टप हेल्प नेपाल स्पोट्र्स क्लब र रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बिहीबार सम्पन्न क्वाटरफाइनल खेलहरूमा यी टोलीहरूले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।
नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । खेलको सुरुआतदेखि नै आक्रामक र सन्तुलित खेल प्रस्तुत गरेको पुलिसले कोशी प्रदेशलाई २५–१९, २५–१७ र २५–१८ को सेटमा हराउँदै ३–० को सहज जित निकालेको हो ।
पुलिसका खेलाडीहरूले ब्लक, सर्भ र डिफेन्स तीनै पक्षमा उत्कृष्ट समन्वय देखाउँदै खेल आफ्नो नियन्त्रणमा राखेका थिए ।
यो जितसँगै नेपाल पुलिस क्लबले सेमिफाइनलमा साविक विजेता टिप–टप हेल्प नेपाल स्पोट्र्स क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुवै टोली अनुभवी र सशक्त मानिएकाले उक्त सेमिफाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
यसअघि आजै भएको पहिलो क्वाटरफाइनल खेलमा टिप–टप हेल्प नेपाल स्पोट्र्स क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । हेल्प नेपालले बुढानिलकण्ठमाथि २५–१३, २५–२३ र २५–१८ को सेटमा जित दर्ता गरेको हो ।
पहिलो सेटमा पूर्ण प्रभुत्व जमाएको हेल्प नेपालले दोस्रो सेटमा केही दबाब झेले पनि अन्ततः अनुभवको भरमा खेल आफ्नो पक्षमा पारेको थियो । साविक विजेताका रूपमा प्रतियोगितामा सहभागी हेल्प नेपालले आफ्नो उपाधि रक्षा गर्ने लक्ष्यलाई कायमै राखेको छ । टोलीका खेलाडीहरूले महत्त्वपूर्ण क्षणमा संयमित प्रदर्शन गर्दै विपक्षीमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेका थिए ।
यस्तै, रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरले एपिएफ क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । तीन जना पाकिस्तानी खेलाडीसहित मैदान उत्रिएको रुकुम पश्चिमले पहिलो सेट गुमाएपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्न सफल भयो । रुकुम पश्चिमले एपिएफलाई २२–२५, २५–२०, २५–१६ र २५–२० ले हराउँदै ३–१ को जित निकालेको हो ।
पहिलो सेटमा एपिएफसँग पछि परेको रुकुम पश्चिमले त्यसपछि खेलको लय परिवर्तन गर्दै आक्रामक खेल प्रस्तुत ग¥यो । विशेषगरी सर्भ रिसेप्सन र काउन्टर अट्याकमा सुधार ल्याउँदै टोलीले खेल आफ्नो पक्षमा मोडेको थियो । यो जितसँगै रुकुम पश्चिमले प्रतियोगितामा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ ।
नवौं एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत बाँकी क्वाटरफाइनल खेलहरू पनि आजै हुने कार्यक्रम रहेको छ । रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरको सेमिफाइनल प्रवेशसँगै अब अर्को सेमिफाइनल समीकरण पनि स्पष्ट हुँदै गएको छ ।
नवौं संस्करणको एनभिए भलिबल च्याम्पियनसिपमा देशभरका शीर्ष क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिताले नेपाली भलिबलको स्तर उकास्न तथा नयाँ प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको खेलप्रेमीहरूको विश्वास छ । सेमिफाइनल र फाइनल खेलहरूमा दर्शकको उत्साह अझ बढ्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्