काठमाडौँ, १८ पुस । नेपाली फिल्म उद्योगमा नयाँ सम्भावनाको ढोका खोल्ने उद्देश्यसहित निर्माण गरिएको साइन्स फिक्सन विधाको फिल्म ‘एक्लो–१’ प्रदर्शनमा आएको छ ।
नेपाली चलचित्रको इतिहासमै दुर्लभ मानिने साइन्स फिक्सन धारमा तयार गरिएको यस फिल्मलाई साहसी र फरक प्रयोगका रूपमा हेरिएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर बिहीबारदेखि देशभरका सिनेमा हलमा फिल्मको सार्वजनिक प्रदर्शन सुरु भएको हो ।
नेपाली दर्शकमाझ प्रायः सामाजिक, प्रेमकथा वा पारिवारिक विषयवस्तुमा केन्द्रित फिल्महरू निर्माण हुँदै आएका बेला ‘एक्लो–१’ले प्रविधि, भविष्य र मानव जीवनसँग जोडिएका विषयलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।
यही कारणले यस फिल्मलाई नेपाली फिल्म उद्योगमा नयाँ युगको सुरुवातका रूपमा लिइएको छ । फिल्मले कथावस्तु, प्रस्तुति र प्रविधिको प्रयोगमार्फत नेपाली सिनेमा पनि अन्तर्राष्ट्रिय विधासँग प्रतिस्पर्धा गर्न सक्षम छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।
हाल घरेलु बक्स अफिसमा दुई ठूला विदेशी फिल्म ‘धुरन्धर’ र ‘अवतार ३’को प्रभाव कायमै रहेकाले ‘एक्लो–१’ले अपेक्षाअनुसारको शो संख्या भने पाउन सकेको छैन ।
पहिलो दिनका लागि फिल्मले देशभर १२४ वटा शो मात्र प्राप्त गरेको छ । यद्यपि, उपलब्ध शोहरूमा टिकट बुकिङ उत्साहजनक देखिएकाले आगामी दिनमा दर्शकको रुचि बढ्दै जाने अपेक्षा गरिएको छ । समीक्षक र प्रारम्भिक दर्शकबाट प्राप्त हुने सकारात्मक प्रतिक्रिया, अर्थात् ‘वर्ड अफ माउथ’, फिल्मको व्यापारिक यात्रामा निर्णायक बन्न सक्ने विश्लेषण गरिएको छ ।
फिल्म ‘एक्लो–१’मा नेपाली फिल्म उद्योगका स्थापित तथा चर्चित कलाकारहरूको सशक्त उपस्थिति रहेको छ । मुख्य भूमिकामा लोकप्रिय अभिनेता प्रदीप खड्का देखिएका छन् ।
पछिल्ला केही वर्ष उनका फिल्महरूले अपेक्षित व्यावसायिक सफलता नपाएका कारण यो फिल्म प्रदीपका लागि विशेष महत्वको रहेको मानिन्छ । ‘एक्लो–१’मार्फत उनी आफ्नो अभिनय क्षमता र स्टारडम पुनः स्थापित गर्ने प्रयासमा छन् । दर्शक र समीक्षकको प्रतिक्रिया उनका लागि निर्णायक बन्ने देखिन्छ ।
प्रदीप खड्कासँगै विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगायतका कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
साथै, अन्तर्राष्ट्रिय स्वाद थप्दै बेलायती अभिनेता जेमी बेकनको सहभागिताले फिल्मलाई थप आकर्षक बनाएको छ । कलाकारहरूको विविधता र अनुभवले कथालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । फरक विषयवस्तुमा फिल्म निर्माण गर्ने साहसिक निर्णयले निर्देशक शाहीको दृष्टिकोणलाई स्पष्ट रूपमा देखाएको छ ।
एनआरएन समूहको लगानीमा बनेको यस फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् भने निर्माता स्वयं प्रदीप खड्का हुन् । लगानी, प्रविधि र प्रस्तुति तीनै पक्षमा स्तर कायम राख्ने प्रयास गरिएको निर्माण पक्षको दाबी छ ।
समग्रमा, ‘एक्लो–१’ केवल एउटा फिल्म मात्र नभई नेपाली फिल्म उद्योगमा नयाँ विधा र सोचको प्रतिनिधि प्रयासका रूपमा हेरिएको छ । दर्शकको साथ र समर्थन पाउन सकेमा यसले भविष्यमा नेपाली सिनेमा नयाँ उचाइमा पु¥याउने मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्