नयाँ फिल्म ‘तेल भिसा’मा कलाकारको ‘लाइनअप’ पूरा, निर्देशनमा फर्किदै शंकर

काठमाडौं, १३ मंसिर । १२ वर्षपछि निर्देशनमा फर्किन लागेका शंकर घिमिरेले आफ्नो नयाँ फिल्म ‘तेल भिसा’मा कलाकारको ‘लाइनअप’ पूरा गरेका छन् । अभिनेता विपिन कार्कीलाई अनुबन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेका उनले वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङसँग पनि कागजी सम्झौता गरेका छन् । अमेरिकामा रहँदै आएकी ऋचाले यही फिल्मबाट १० वर्षपछि कमब्याक गर्दैछिन् ।

निर्देशक घिमिरे स्वयंको लेखन रहेको यो फिल्मको आगामी वर्षको भदौ २८ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यही मितिमा फिल्म अमेरिकालगायतका देशमा पनि लाग्नेछ । सेभेन सिज इन्टरटेन्मेन्टले फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ । यो कम्पनी फिल्मको निर्माता पनि हो । विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं ‘तेल भिसा’को निर्मातामा रहेका छन् ।

वेल डन क्रियसनले निर्माणमा सहकार्य गरेको फिल्मको छायांकन आगामी चैत दोस्रो साताबाट सुरु गरिँदैछ । नेपाल र अमेरिकामा खिचिने फिल्ममा विपिनको दोहोरो भूमिका हुनेछ । विदेशमा जाने नेपाली र त्यतै स्थापित हुने क्रमको नेपाली समाजको बदलिँदो स्थितिलाई फिल्मले बोल्नेछ । सुशन प्रजापतीको छायांकन रहने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

यसैगरी, अभिनेता अर्पण थापाले भिलेनको रुपमा स्थापित गरिरहेका छन् । ‘प्रसाद २’ र ‘दिमाग खराब’मा उनले नकारात्मक चरित्रमा गरेको अभिनयको प्रशंसा भएको थियो । अब उनी आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रङ्गेली’मा पनि भिलेनको भूमिकामा देखिँदैछन् । मंगलबार निमाण टिमले सार्वजनिक गरेको उनको क्यारेक्टर लुक्स पोस्टरले यही संकेत गर्छ ।

पोस्टरमा अर्पणको कपाल सेताम्मे छ । कानमा मुद्रा लगाएका उनको घाँटीमा सुनको सिक्री झुण्डिएको छ । काँधमा गम्छा भिरेका उनको लुक्स आकर्षक छ । उनलाई भगवान् दादाको रुपमा चित्रण गरिएको छ । उनको लुक्सले ‘रङ्गेली’मा उनी ग्याङस्टारको भूमिकामा रहेको बुझाउँछ । यसअघि सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई पनि ग्याङस्टार लुक्समा प्रस्तुत भएका थिए ।

अर्जुन सुवेदीको निर्देशक तथा लेखन रहेको फिल्ममा दयाहाङ र अर्पणका साथै मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकीको पनि अभिनय छ । फिल्ममा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना, सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ । फिल्मको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् ।

युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता र विवेक खड्का (योलो) एशोसियट निर्मातामा रहेको फिल्मका छायाँकार सुशन प्रजापति हुन् । जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले फिल्म रिलिज गर्दैछन् भने अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ र अष्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस’ले फिल्मको प्रदर्शन अधिकार किनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्